Spread the love

यूवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय युवा परिषदको संयुक्त आयोजनामा गरिएको अन्तराष्ट्रिय  युवा दिवस तथा राष्ट्रिय प्रतिभा सम्मान समारोहमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले युवाहरुलाई मुलुकको समृद्धिसँग जोडिन आग्रह गर्नुभयो । उहाँले युवाले अव सिर्जनात्मक दवाव दिनु पर्ने बताउनु भयो । आर्थिक विकास र समृद्धि सरकारको मुख्य एजेण्डा भएको हुँदा अवको छलफल युवालाई कसरी आर्थिक विकास र समृद्धिसँग जोड्ने भन्ने विषयमा हुनुपर्ने बताउनु भयो । युवालाई विद्यमान कानुन, नीति एवं वर्तमान संरचनाको अनुगमन तथा मूल्यांकनमा अग्रसर गराई नविन सोच र सिर्जनशिल भएर लाग्न आग्रह गर्नुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत सरकारले रोजगारी र स्वरोजगारलाई सम्बोधन गर्न खोजेको, लगानीमैत्री वातावरणका लागि प्रयास भईरहेको स्पष्ट पार्दै मुलुक बनाउने साझा अभियानमा सबै युवाहरु एकतावद्ध भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।

त्यसैगरी युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले सरकारले युवा परिचालनका माध्यामबाट समृद्धि हासिल गर्न चाहेको हुँदा यसका लागि युवालाई वैज्ञानिक खोज तथा विभिन्न किसिमका अनुसन्धानसँग जोडिन आग्रह गर्नुभयो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलले युवा पलायन रहदासम्म देशले उन्नती गर्न नसक्ने जनाउदै योजना आयोगले १५ वटा योजनाको तयारी गरिरहेको र शिक्षा र रोजगारी प्रणालीमा सुधार गर्दै युवाका विषयमा पनि सम्बोधन हुने जानकारी दिनुभयो । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले नेपाली युवाको विकासका लागि परिषदमार्फत शिक्षा, स्वास्थ्य, रोजगारी, स्वरोजगार,उद्यमशिलता, स्वयंसेवक परिचालन लगायतका बिभिन्न कार्यक्रममा युवालाई अगाडि बढाउदै उद्यमी बनाउन ऋण प्रवाह, तालिम तथा प्रशिक्षण समेत दिने गरेको बताउनु भयो ।