Spread the love

इटहरी / नेपालको उदयमान शहर तथा प्रदेश नं: १ को केन्द्रविन्दुको रुपमा रहेको इटहरी अविरल वर्षा पछि आएको बाढिले जनजीवन अस्तव्यस्त बनाएको छ । लगातारको वर्षाले इटहरीका अधिकांश वडाहरु डुबानमा परेका छन् ।


इटहरीमा रहेका बुढि खोला , टेंग्रा खोला, खेती खोला लगायत अन्य खोलामा आएको बाढी वस्तीमा पसेपछि अधिकांश इटहरी डुबानमा परेको छ भने केही स्थानहरु पुर्ण रुपमा डुबानमा परेका छन् । बर्षेनी आउने बाढीका कारण इटहरीमा जनधनको क्षति हुने क्रम रोकिएको छैन ।


इटहरी भएर बग्ने खोला विगत ४ दिन देखिको अबिरल बर्षाको कारण वस्ती तथा सडकमा बग्न थालेसँगै धेरै इटहरीबासीको जनजीवन प्रभावित भएको छ । बाढिको मुख्य कारण अव्यवस्थित निर्माण कार्य तथा खोला मिचेर बनाईने संरचनाको कारण भएको विज्ञहरुको दाबी छ ।


पछिल्लो केही बर्षयता तिव्र रुपमा शहरीकरण भईरहेको ईटहरीमा खोला पैनी मिचेर प्लटिङ्ग गर्ने, बस्ती विकास गर्ने तथा उपयुक्त ड्रे्न निकास नहुँदा निरन्तर बर्षा भएमा इटहरी सदैव डुबानको चपेटामा पर्ने गरेको सरोकारवालाको भनाई छ ।

तीब्र रुपमा शहरीकरण भईरहेको ईटहरीको मुख्य समस्या मध्ये बाढि प्रकोप पनि एक भएपछि यसको नियन्त्रण गर्दै इटहरीबासीलाई बाढीबाट जोगाउनु चुनौतीको विषय बनेको छ । बाढिबाट ईटहरीलाई भविष्यमा जोगाउदै बर्षेनी आईपर्ने संकट टार्न खोलापैनी मिचेर बनाईएका संरचना हटाउदै व्यवस्थित निकास खोजिनुपर्ने आवश्यकता देखिएको छ ।


अहिले पनि इटहरीका कैयौं स्थानमा खोला पैनी मिचेर संरचना निर्माण भएकाले इटहरीबासीहरुले बर्षेनी बाढिको समस्या भोग्नुपरेको छ । यदि समयमै खोला पैनी मिचिएर निर्माण गरिएका भौतिक संरचना हटाई ड्रेन व्यवस्थित नगरिने हो भने आगामी बर्षहरुमा स्थिति अझ भयावह हुनेमा दुईमत छैन ।


खोला पैनी मिचेर भौतिक संरचना निर्माण गर्दाको परिणाम के हुन्छ भन्ने कुरा हामीले मेलम्ची खोलामा आएको बाढिको नतिजाबाट सिक्न सकिन्छ । त्यसर्थ प्राकृतिक रुपमा रहेका खोला पैनीलाई प्राकृतिक रुपमै बग्न दिने र निकासको लागि व्यवस्थित ड्रेन निर्माण गर्न सकेमात्र बाढि नियन्त्रण गर्न संभव छ ।


इटहरीमा भईरहेका विकास निर्माणका क्रममा व्यवस्थित ड्रेन तथा कल्भर्ट निर्माण गर्न सके पनि वस्तीमा बाढी पस्ने समस्या निराकरण हुने विज्ञहरुको भनाई छ । विकास निर्माणका कार्य गर्ने तर खोला पैनी मिच्ने, निकासका लागि व्यवस्थित ड्रेन निर्माण नगर्ने, जथाभावी खोला दोहनका कारण नै बाढिको समस्या बर्षेनी बढ्दै गईरहेको छ ।


त्यसर्थ इटहरीलाई बाढिको वितण्डाबाट जोगाउन बुढि तथा टेंग्रा खोला क्लियर गरी व्यवस्थित तटबन्धन निर्माण तथा खोला किनाराका क्षेत्रमा वृक्षारोपण र खोला पैनी मिचेर बनाईएका भौतिक संरचना हटाईनु जरुरी छ । बाढि प्रकोपबाट वस्ती जोगाउन फोहोर तथा ढल पानी निकासका लागि व्यवस्थित ड्रेन निर्माण गर्दै वैज्ञानिक विकासलाई अघि बढाउन जरुरी छ ।

चरम रुपमा भईरहेको खोला दोहन नरोकिए बाढिको समस्या बर्षेनी भोग्नुपर्ने निश्चित छ । त्यसर्थ समयमै यसतर्फ सरोकारवालाहरुको ध्यानाकर्षण भई गम्भीरतापुर्वक दिर्घकालिन रुपमा बाढि नियन्त्रणका काममा लाग्नु जरुरी छ ।