दलित–उत्पीडन,संघर्ष र बलिदानको संक्षिप्त ईतिहास
–डिक बहादुर विश्वकर्मा
हिन्दू समाजमा वर्ण व्यवस्थाको शुरुवात कहिले देखि भयो भन्ने कुरा हिन्दू धर्मशास्त्रहरु केलाएर हेर्दा यकिन गरि भन्न सक्ने अवस्था छैन । आदि ग्रन्थ ऋग्वेदमा पनि चतुर्वर्णको भेद उल्लेख गरेको पाइदैन । हिन्दू धर्मका प्रमूख ग्रन्थहरु मध्ये एक मानिने रामायणमा सर्वप्रथम वर्णभेदको उल्लेख पाईन्छ । हिन्दुहरुले भगवान् मानेका रामचन्द्रको कथित राम–राज्यमा शुद्र (दलित) जातिलाई अति दबाएर राखिएको थियो । त्यस बेला समाजमा शुद्र वर्णको सबभन्दा तल्लो जातमा गनिने ‘चाण्डाल’ नामक समुदायलाई उनीहरु सँग छोइएर बहेका हावाले अरु ठूलो जातलाई नछोओस भनेर प्रत्येक गाउँ वा शहरको दक्षीणतर्फ मात्र छाप्रा बनाई बस्ने अनुमति थियो, किनकी दक्षिण दिशाबाट उत्तर दिशा तर्फ हावा बहन्न भन्ने समाजको मान्यता थियो । तत्कालिन समाजमा बाहुनले मात्र गर्ने भनेर तोकिएको ‘तपस्या’ क्षेत्री जातको एक व्यक्तिले गरेर विश्वामित्र ऋषि नामले ‘माथिल्लो जात’ भै बाहुन बनेको थियो । त्यहि कुरालाई अनुशरण गरेर ‘शम्बुक’ नामक शुद्रले पनि अघोर तपस्या गरि बाहुन बन्न सफल भयो र जीउँदै स्वर्ग जान योग्य भयो । क्षेत्री विश्वामित्र बाहुन बन्दा सर्वस्वीकार्य भएको त्यो समाजलाई शुद्र शम्बुक भने बाहुन बनेकोमा पचेन र होनी अनहोनी घटना घट्न गै राम–राज्यमा खलबली मच्चियो । त्यस बेला समाजलाई शान्त र नियमित गर्न भनी विश्वामित्र बशिष्ठादि ऋषीहरुले दिएको सल्लाह मानेर कथित भगवान् रामले तपस्या स्थलमा पुगी दुवै खुट्टा डोरीले रुखमा बाँधेर टाउको तल झुण्ड्याई अघोर तपस्या गरि रहेको निरीह तपस्वी ‘शम्बुक’ को शीरच्छेदन गरि हत्या गरे । यो कुरा वाल्मिकी रामायण र तुलसीदासको रामचरित मानसको उत्तरकाण्डमा ‘शम्बुक बध’ भन्ने शिर्षकमा सविस्तार लेखिएकोछ । यो कुरा जाने पछि अरुले भगवान् मानेको रामचन्द्र, दलितको नजरमा स्वतः शत्रु बन्न पुगेकोछ ।
त्यस्तै दलित–दमनलाई समाजमा वैधानिकता दिएर स्थाई गर्ने काम द्वापर युगमा हिन्दूहरुको अर्को ठूलो ‘भगवान्’ श्रीकृष्णले गरेको प्रमाण देखिन्छ । गीता विश्वभरिका हिन्दूमात्रको लागि अति पवित्र र पठनीय एवं अनुकरणीय ग्रन्थ मानिन्छ । त्यसै गीताको अठारौं अर्थात् अन्तिम अध्यायमा श्रीकृष्णले भनेको छ कि “चतुर्वण्र्य मया श्रृष्टवाः गुणकर्म विभागशः” । अर्थ– ‘समाज नियमित र शान्तिपूर्ण चलाउनको लागि मान्छेहरुलाई ब्राह्मण, क्षेत्री, बैश्य र शुद्र भनी चार वर्णमा मैले नै विभाजन गरेको हुँ र उनीहरुमा हुनुपर्ने गुण र उनीहरुले गर्नुपर्ने कामको विभाग पनि मैले नै बाँडि दिएकोछु ।’ यति भनेपछि श्रीकृष्णले वर्णै पिच्छेका काम र गुणको भागवण्डा लगाउँदै गीताको अठारौं अध्याय सकेकोछ । त्यसमा बाहुनले यो÷यो काम गर्नु, क्षेत्रीले यो÷यो काम गर्नु, वैश्यले यो÷यो काम गर्नु र शुद्रले माथी उल्लेखित तीन वर्णका मान्छेको सेवा हरप्रकारले गर्न सँधै तत्पर रहनु भनी विस्तार वर्णनछ । त्यस पछि भनिएको छ कि ‘जब सम्म मैले भाग वण्डा लगाई दिएको नियम अनुसार सबैले आ–आफ्नो वर्ण क्षेत्र भित्रको काम गर्लान् तब सम्म समाज र देशमा शान्ति कायम रहनेछ । जब त्यो नियम मिचेर एक वर्णलाई तोकिदिएको काम अर्को वर्णले गर्ला, त्यस अवस्थामा समाज भाँडिनेछ । वर्णशंकर (cross breeding) सन्तानको बृद्धि हुनेछ, अधर्म बढ्नेछ र पृथ्वीको भार बढ्नेछ । त्यस्तो बेलामा पृथ्वीको भार हरण गर्न र धर्म रक्षाको लागि मैले प्रत्येक युग÷युगमा जन्म लिनु पर्नेछ (…..धर्म संस्थापनार्थाय संभवामी युगे युगे) ।’ उहि श्रीकृष्णले अर्जुनलाई पनि माथ गर्ने विश्वकै अद्वितीय धनुर्धर शुद्र (निषाद) कुलिन एकलव्यलाई कुरुक्षेत्रको संग्राम हुनु अगावै छलकपट गरेर मारे ।
यसरी हेरेपछि हामी प्रष्ट हुन्छौं कि हिन्दूहरुका परम् पुज्य देवता राम र कृष्ण दुबैले शुद्रलाई दमन गर्न कस्ता कस्ता दलितघाती कामहरु गरेका रहेछन् । यसपछि भन्न सकिन्छ कि राम र कृष्ण अरु हिन्दूका लागी जति नै आरणीय भएता पनि दलित मात्रको लागि उनीहरु कट्टर शत्रुहरु हुन् र सँधै घृणा योग्यछन् । पौराणिक कालमा भएको दलित उत्पीडन तथा शम्बुक एवं एकलव्य जस्ता योद्धाहरुको संघर्ष र उनीहरुको बलिदान बारे जानेपछि हामी ऐतिहासिक काल तर्फ लागौंः–
मुसलमानहरुको शासन कायम हुनु अघि सम्म पुरै भारतमा र अंग्रेजको शासन कायम हुनु भन्दा अघि सम्म महाराष्ट्र, राजस्थान आदी हिन्दू राजाहरुको बोलबाला भएका क्षेत्रहरुमा दलित जातिको दुर्दशा भनि नसक्नु थियो । सूर्योदय देखि सूर्यास्त सम्म मान्छेको छायाँ लम्बिने समयमा दलितको छायाँले अरु ठूला जातलाई छोएर अपवित्र पार्छ भनेर दलितलाई बाहिर निस्कन बन्देज थियो । मान्छेको छायाँ आफ्नै शरीरमा मात्र अल्झने र लम्बाई नहुने भएकाले दिनको १२ बजे एक घण्टा मात्र उनीहरु बाहिर निस्कन पाउँथे । घाम डुबेपछि बिहान घाम नउँदाउँदा सम्म उनीहरुले रातभरी ठूलाजात भन्नेका खेतबारीमा काम गर्नु पथ्र्यो । त्यो बेला साँपले डसेर वा जंगली जनावरले खाएर कति दलित अकाल मै मर्थे ।
हिन्दू धर्म र समाजले दलित प्रति गरेको त्यो भेदभाव र अत्याचारको कडा विरोध भारतमा गुरुनानक, संंत कबीर, संत रविदास, स्वामी दयानंद सरस्वती, स्वामी विवेकानन्द आदि मध्यकालिन समाज सुधारकहरुले गर्दै गए भने आधुनिककालमा दक्षिण भारतको द्रविड कषगम का प्रवर्तक अय्यर रामा स्वामी, महाराष्ट्रका ज्योतिर्वा फुलेले गरेका थिए । अंग्रेजी शासनको उत्तरार्धमा महाराष्ट्रमा जन्मेका डा.भीमराव अम्बेडकरले आफ्नो सम्पूर्ण जीवन, हिन्दूधर्म र समाजबाट दलित प्रति भै रहेको अमानवीय भेदभाव, अत्याचारको विरोध गरी दलितहरुलाई शिक्षीत बत्र संगठीत हुन र संघर्ष गर्दै आफ्नो गुमेको हक खोसेर लिन सिकाउनु मै अर्पण गरे । भारतको वर्तमान् संविधानका निर्माता डा.भीमराव अम्बेडकरकै कारणले त्यहाँका दलितहरुले राजनैतिक, प्रशासनिक र शैक्षिक आदि महत्वपूर्ण क्षेत्रमा पर्याप्त आरक्षण पाए र निति निर्माणतह देखि अन्य ठूलाठूला पदमा समेत थुप्रै पुगीरहेकाछन् ।
नेपालमा पनि हिन्दूहरुको आगमन सँगै जातिय भेदभाव र छुवाछुत प्रथा भारतबाट भित्रिएको इतिहास प्रमाण छ । काठमाडौंका राजा जयस्थिति मल्लले भारतबाट कट्टर हिन्दू बाहुनहरु झिकाई उनीहरुको तजवीजमा समाज सुधारको नाममा दलितको खोइरो खन्ने नियम बनाए भने त्यसैको अनुकरण गरेर गोरखाको राम शाहले पनि दलित दमन गर्ने र बाहुन पुज्ने खालका सामाजिक नियम बनाए । ती दुई राजाका सामाजिक नियम प्रायशः तत्कालीन नेपालका बाईसी, चौबीसी एवं अन्य सबै पहाडीया हिन्दू राजाले आ–आफ्नो राज्यमा पनि लागु गरे, किनकी दलितमारा ति नियमहरु मनुस्मृति र गौतम स्मृति आदि हिन्दू शास्त्र अनुसार सर्वमान्य थिए । बेलायतबाट फर्केपछि तत्कालिन नेपालको एकछत्र तानाशाह श्री ३ जंगबहादुर राणाले मनुस्मृतिका आधारमा समाजमा चल्ती चलनमा रहेका उपरोक्त पुराना दलितमारा नियमहरुलाई बाकायदा देशको एक मात्र कानुन मुलुकी ऐनमा लिपीबद्ध गरिदिए, जसको असर ऐले सम्म पनि हाम्रो समाजमा कायमै देख्न सकिन्छ ।
भारतमा कट्टर हिन्दू शासक र तीनका मतीयारले झण्डै एक हजार वर्ष सम्म मुसलमान र अंग्रेजको जुत्ताको मार खाई रहनु परेको हुँदा त्यहाँको समाजमा दलितका पक्षमा केहि न केहि सुधार आउनु बाध्यता प¥यो । नेपालमा भने हिन्दू राजाहरुले शासन गर्न थाले देखि आज सम्म, वि.सं. १४०६ मा बंगालको सुल्तान समसुद्धिन इलियासले काठमाडौंमा हमला गरि पशुपतिनाथको मन्दिर र मूर्ति ध्वस्त बनाएर छोडे वाहेक, अर्को विधर्मीबाट हमला र देश कब्जा भएकोछैन । राष्ट्रियताको दृष्टिले हेर्दा त यो कुरा अति राम्रो हो तर दलितको दुर्दशाको दृष्टिले हेर्दा भने बडो दुखदायी । एकछत्र र निष्कण्टक राज्य गर्न पाएका हिन्दू शासक र तिनका मतियारले यहाँ निर्विरोध दलित दमन गर्दै आए । यस कुराको प्रमाण २०२० साल श्रावण मसान्त सम्म लागु रहेको पुरानो मुलुकी ऐन र ऐले पनि देशका ठाउँ ठाउामा भै रहेका दलित दमनका घटनाहरुलाई लिन सकिन्छ । यद्यपि राणाकालको अन्त्यतिर पूर्वी नेपालको धरानका पं.छविलाल पोखरेल र मध्य नेपालको अर्घाखाँची खिदीमका पं.नारायण गौतमले दलितलाई पनि अन्य हिन्दू सरह समान शिक्षा र अधिकार दिनु पर्छ भन्ने अभियान चलाएका थिए तर समाजको लगातार विरोधले गर्दा ती अभियन्ताले चाँहिदो सफलता पाउन सकेनन् ।
नेपालमा सामाजिक र जातीय भेदभाव तथा दलित उत्पीडनको सर्वप्रथम विरोध गर्ने योद्धा बाग्लुङ्ग जिल्लाको गैरागाउँमा वि.सं. १९५० मा जन्मेका भगत सर्वजीत विश्वकर्मा मानिएका छन् । उनले वि.सं. १९९७ सालमा राणा शासकले शुक्रराज शास्त्री, धर्मभक्त, गंगालाल र दशरथ चंद ४ जनालाई शहीद बनाए लगतै बाग्लुङ्ग देखि पाल्पा सम्मका सुनार, दमाई, सार्की, गाइने र वादी आदी भेटिए जतिका दलित जातलाई एकीकृत गर्दै जातीय समानता हुनुपर्ने नाराको उद्घोष गरे । वि.सं. २००३ सालमा ‘विश्व सर्वजन संघ’ नामको संगठन खोलेर त्यसको नेतृत्व गर्दै बाग्लुङ्ग र पाल्पा बजारमा समानताको विगुल फुक्दै जुलुस निकाले । वि.सं. २००४ साल र २००६ सालमा गरी झण्डै २ वर्ष जेल सजाय भोगे । त्यसै बेला उनको मुखका अगाडिका दाँत पाल्पाको बडा हाकिम रुद्र शंशेर राणाले जुत्ताले हानेर झारी दिएको थियो भने टी.वी.को व्यथा बोकेर २००७ सालमा जेल मुक्त भए । अन्त्यतिर संगी साथीले उनको साथ छोडेता पनि जीवनको अन्त्य सम्म दलितको अधिकार र समानता प्राप्तिको लागि संघर्ष गर्दै वि.सं.२०१२ सालमा गोण्डा (भारत) मा उनको दःुखद देहान्त भयो । उनको साथ केहि महिना जेल पर्ने योद्धाहरुमा बाग्लुङ्गका लक्ष्मी नारायण विश्वकर्मा र मनवीरहरु थिए ।
२००७ सालको जनक्रान्ति र सर्वजीत विश्वकर्माको पतन पछि नेपालको दलित संघर्ष, राजा वा सरकारको दयाको मुखापेक्षी भएर चल्न थाल्यो । धनमान सिंह परियार, सहश्रनाथ कपाली, हीरालाल विश्वकर्मा, टी.आर.विश्वकर्मा, रुपलाल विश्वकर्मा आदि संघर्षशील व्यक्तिहरु अगाडि आए । तर सर्वजीतको सर्वनाश देखेका र दलित समाजको आर्थिक, शैक्षिक र सांगठनिक पृष्ठभूमि बलियो नभएका कारण राजा र सरकारको मुखापेक्षी हुँदै शक्तिहीन संघर्ष गर्दैमा जीवन बिताए ।
दलित प्रति पार्टीहरुको व्यवहारः
नेपालमा आज सम्म खुलेका सबै शक्तिशाली पार्टीहरु मध्ये ९० प्रतिशतमा बाहुनहरु र बाँकी १० प्रतिशतमा क्षेत्री वा जनजातिहरु मात्र नेतृत्व पंक्तिमा रहेकाछन् । बाहुन बहुल रहेको नेपाली काँग्रेसले धनमान सिंह परियारलाई महामन्त्री बनाएता पनि वि.सं. २०१५ सालको आम चुनाव पछि गठीत दुई÷तिहाई बहुमतको आफ्नो मंत्री मंडलमा दलितलाई कुनै स्थान दिएन । न त दलितलाई कुनै महत्वपूर्ण पद नै दियो । जबकी वि.स. २००० सालमा सर्लाहीमा कृष्णवीर कामी र २००७ सालको जनक्रान्तिका दौरान तनहुँमा चन्द्र बहादुर सार्की जस्ता थुप्रै दलित योद्धाले देशको ठाउँ ठाउँमा नेपाली काँग्रेसको पछि लागेर शहादत पाएका थिए । राजा वीरेन्द्रले समेत हिरालाल विश्वकर्मालाई सहायक मंत्री र पछि राज्य मंत्री सम्म बनाएको देखेको नेपाली काँग्रेसले २०४८ सालको चुनाव पछि गठित दुई तिहाई बहुमतको आफ्नो सरकारमा त्यतिबेला निर्वाचित एकमात्र दलित सांसद कृष्ण सिंह परियारलाई पनि मंत्री मंडलमा ल्याएन । अन्य कुनै पनि दलितलाई महत्वपूर्ण पदमा नियुक्त गरेन । एमालेले पनि वि.सं.२०५१ सालको आफ्नो ९ महिने शासन कालमा काँग्रेसकै अनुशरण गरेर दलितलाई मंत्रीमंडलमा अछुतै राख्यो । त्यस पछि बनेको शेरबहादुर देउवाको ४८ सदस्यीय जम्वो मंत्रीमंडलमा पनि दलितले स्थान पाएनन् । राजा ज्ञानेन्द्रले प्रकाश चित्रकार र प्रताप राम लोहारलाई सहायक मंत्री बनाएको देखे पछि बल्ल झारा टार्न त्यस पछि बनेको शेरबहादुर देउवा र एमालेको संयुक्त मंत्रीमंडलमा हरिशंकर परियार र लालबहादुर विश्वकर्मालाई सहायक मंत्री बनाईयो ।
माओवादीले सत्तामा सहभागी भए लगत्तै आफ्नो पूर्व घोषणानुसार ११ जना दलितलाई वर्तमान संसदमा पठायो साथै खडग बहादुर विश्वकर्मालाई मंत्री बनाई नेपालको इतिहासमा पहिलो पटक दलितलाई क्याबिनेटमा पु¥यायो । त्यसको देखासिकी गरेर बल्ल÷तल्ल एमालेले पनि छविलाल विश्वकर्मा लाई कैविनेट मंत्री बनायो । नेपालमा ऐले दलितको हकहितको लागि जे जति काम भैरहेको छ केवल माओवादीले दलितलाई हक दिन निमित्त राख्ने गरेको अडानको कारणले मात्र भएकोछ भन्दा अत्युक्ति नहोला ।
—०—
द्रष्टव्यः— यो लेख यथासमयमा बुटवल बाट प्रकाशन हुने दैनिक लुम्बिनी वा सैनामैना दैनिकमा प्रकाशित थियो । मेरो दुर्भाग्यवश त्यो पत्रिका हराउन जानाले पाण्डुलिपिको आधारमा यहाँ प्रस्तुत छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै



