पहिलो मुलुकी ऐनमा जात हेरी दण्ड

सुरेन्द्रविक्रम शाह राजा र जंगबहादुर राणा श्री ३ महाराज तथा प्रधानमन्त्री भएका बेला विसं १९१० मा नेपालमा पहिलो पटक मुलुकी ऐन जारी भएको थियो। देशभरिको दण्ड व्यवस्थामा एकरूपता ल्याउनु यसको मुख्य उद्देश्य थियो।
विसं १९१० पुस ७ मा जारी भएको मुलुकी ऐनमा प्रकाशित राजा सुरेन्द्रविक्रमको सन्देशमा ‘आजसम्म मरमामिला गर्दा एकै विहोरामा कसैलाई कमि, कसैलाइ बढता सजाय हुन जान्या हुँदा तसर्थ अब उप्रान्त छोटा, वडा प्रजा प्राणि सबैलाई षत जात माफिक एकै सजाय हवस्, घटी बढी नपरोस भन्ना निमित्त…श्री ३ महाराज जङ्ग बहादुर राणाजि सिवि प्राइममिनिस्टर याण्ड कम्याण्डर इनचिफलाइ हुकुम बक्सी’ ऐन बनाएको हो भनिएको छ।
मुलुकी ऐन जारी हुनुभन्दा करिब तीन वर्षअघि जंगबहादुरले बेलायत र फ्रान्सको भ्रमण गरेका थिए। भ्रमणका क्रममा उनले ती मुलुकमा देशभरि एउटै कानुन लागू भएको देखेका थिए। यसबाट प्रभावित भएर नेपाल फर्किएपछि उनले मुलुकी ऐनको मस्यौदा तयार पार्न लगाएका थिए। मस्यौदा तयार पार्न त्यसअघिका कानुनहरूको पनि अध्ययन गरिएको थियो।
सन् १३८० मा काठमाडौँ उपत्यकाका राजा जयस्थिति मल्लले मैथिल ब्राह्मणहरूको सहयोगमा ‘न्यायविकासिनी’ नामक कानुनसंग्रह बनाएर जनताका दैनन्दिन्यलाई नियमन गरेका थिए। त्यसअघिको न्याय परम्परालाई निरन्तरता दिँदै उनले हिन्दू धर्ममा प्रचलित वर्णव्यवस्थाअनुरूप ‘न्यायविकासिनी’ तयार पार्न लगाएका थिए। यसका लागि हिन्दू धर्मग्रन्थ नारदस्मृतिको सहयोग लिइएको थियो।
यस्तै परम्परालाई निरन्तरता दिँदै मुलुकी ऐन, १९१० मा पनि हिन्दू वर्णव्यवस्थालाई नै न्यायको प्रमुख आधार बनाइयो। यसमा रैतीहरूलाई तागाधारी (जनै लगाउने), नमासिने मतवाली (रक्सी खाने जात, जसलाई दास बनाउन पाइँदैन), मासिने मतवाली (रक्सी खाने जात, जसलाई दास बनाउन पाइन्छ), पानी नचल्ने छोइछिटो हाल्नुनपर्ने र पानी नचल्ने छोइछिटो हाल्नुपर्ने गरी पाँच श्रेणीमा विभाजित गरियो। एउटै कसुर गरेबापत माथिल्लो जातकाले कम र तल्लो जातकाले बढी सजाय पाउने व्यवस्था तय गरियो। सो मुलुकी ऐनमा भएका केही प्रावधान यहाँ प्रस्तुत गरिएका छन्। ती प्रावधानलाई चलनचल्तीको भाषामा ढाल्ने प्रयत्न गरिएको छ।
छोडपत्रबारे
विवाह गरेर ल्याएको स्वास्नीलाई बिना गल्ती लोग्नेले सिन्को काट्छु (छोडपत्र गर्छु) भनी सिन्को काट्यो र स्वास्नी उजुरी गर्न आई भने लोग्नेको अंशबाट ऐनबमोजिम अंश गरिदिनू। दिलाइदिएको अंशको दशांश लिनू।
लोग्नेले स्वास्नीलाई कुट्दा अंगभंग पनि गर्यो, हातखुट्टा भाँचिदियो, आँखा फोरिदियो भनी स्वास्नी फिराद (उजुरी) गर्न आई भने स्वास्नीलाई ऐनबमोजिम अंश दिलाई लोग्नेलाई कुटपिटसम्बन्धी ऐनबमोजिम सजाय गर्नू। खुन भएका (पीडित) स्वास्नी पोइसित बस्दिनँ भनी अंश लिएर गए भने सिन्को कटाई छाडिदिनू। सत्यमा बस्नु नबस्नु स्वास्नीको खुशी, कर लाग्दैन। फर्की आए खत पनि लाग्दैन। भराइदिएको अंशको दशांश लिनु।
नेवार जातका पुरुषले बिहे गरेर रित पुर्याई ल्याएका स्वास्नीमाथि सौता हाल्यो, खान लगाउन नदिएर घरबाट निकालिदियो अथवा घरमा वेश्या राखी विवाहितालाई हेरेन र स्वास्नी उजुरी गर्न आई भने अदालत, ठाना, अमालबाट पारपाचुके गराइदिनू।
रक्सी खानेबारे
कसैले तागाधारी जातलाई यो तागाधारी जात हो भन्ने जानी जानी जाँड, रक्सीजस्ता जात जाने कुरा ख्वायो भने ख्वाउनेको अंश सर्वस्व गरी मासिदिनू (दास बनाइदिनू)। जात थाहा नपाई भोरमा (झुक्किएर) ख्वाएछ भने र खाने तागाधारी जातले पनि आफ्ना जात लुकाएर ढाँटी खाएको रहेछ भने ख्वाउनेलाई खत बात लाग्दैन। खानेलाई जात पतित गरी मतवाली शूद्र जातमा मिलाइदिनू।
रूख काट्नेबारे
बाटो, पँधेरो, कुलोमा लगाएका रूख जग्गाधनीले पनि नकाट्नू, अरूले पनि नकाट्नू। बाटो, पँधेरो, कुलोको मुहानमा रहेको अबल (राम्रो कोटिको) रूख काट्नेलाई चार रुपैयाँ, दोयम रूख काट्नेलाई तीन रुपैयाँ, सिम रूख काट्नेलाई दुई रुपैयाँ, चाहार रूख काट्नेलाई एक रुपैयाँका दरले दण्ड गरी काटेको रूख पनि नदिनू, रुपैयाँ नतिरे ऐनबमोजिम कैद गर्नू।
सर्वस्व गर्नेबारे
स्वास्नीमानिसले सर्वस्व हुने तक्सिर (अपराध) गरेमा सर्वस्व नगर्नू। स्वास्नी मानिसको सर्वस्व हुँदैन। सर्वस्व हुने मुद्दामा र मासिने (दास) बन्ने मुद्दामा बात लागी पक्राउ परेका बापतीहरू कायल भएपछि सर्वस्व हुनेको सर्वस्व नआउञ्जेल र मासिने तथा नमासिनेहरूको जात पत्ता नलागुञ्जेल कैदमा राख्नू। सर्वस्व हुनेको सर्वस्व आएपछि र मासिने तथा नमासिनेको जात पत्ता लागेपछि ऐनबमोजिम दामल हुनेलाई दामल गर्नू, मुड्नेलाई मुड्नू, अक्षर खोप्नेलाई अक्षर खोदी छाडिदिनू। मासिने जातलाई मासिदिनू।
खत खापिने/नखापिनेबारे
एकै जनाले धेरै पटक ज्यू जाने (मृत्युदण्ड पाउने), दामल हुने, मासिने (दास बन्ने) खत गरेमा एनेबमोजिम ज्यू लिनू, दामल गर्नू, मास्नू। यति कुरामा खत खापिँदैन। चोरी सम्बन्धमा एकै जनाले जति पटक चोरेको ठहर्छ, उति पटक चोरीसम्बन्धी ऐनबमोजिम खत खापी कैद गर्नू। करणीको कुरामा आफूभन्दा घटी पानी नचल्ने र छिटो हाल्नुपर्ने जातमा करणी गरेमा दुईतीन जनाको करणी गरे पनि खत खापिँदैन, एकै पटक करणी गर्नेलाई जति सजाय गर्नू। आफूभन्दा ठूला जातका होस् अथवा घटी जातको होस, पानी नचल्ने जातका स्वास्नीको करणी गर्यो भने जति जनाको करणी गरेको छ, उतिको ऐनबमोजिम पटक–पटक जोरी जम्मा गरी कैद, जरिवाना गर्नू।
इलाज गर्नेबारे
श्री ५ को सरकारलगायत दुनियाँदार सबैले आफ्नो कोही बिरामी भयो, इलाज गराउँदै गर्दा कालगतिले मर्न गयो र मेरा फलानालाई वैद्यले अनाहकमा मारिदियो भनी कोही उजुरी गर्न आयो भने त्यस्ताका भाइ, छोरा, स्वास्नीको अंश र छोरीको बिहे खर्च छुट्याएर अंश सर्वस्व गरी छाडिदिनू।
वैद्यले नसोधीकन काँचो विष र बुटीहरू ख्वाउँदा बिरामी मरेको रहेछ भने मर्ने मानिसलाई ख्वाए जति औषधि वैद्यलाई पनि ख्वाउनू। यसरी ख्वाउँदा ऊ पनि मर्यो भने त्यस वैद्यले दगा गरेको ठहर्छ, ज्यानको बदलामा ज्यान गयो। त्यसलाई केही भएन भने कालगतिले मरेको ठहर्छ, ख्वाउनेलाई बात लाग्दैन। ब्राह्मण वैद्यलाई ख्वाउँदा मरेछ भने त्यति नै औषधि कुकुरलाई ख्वाउनू। कुकुर मर्यो भने दगा गरेको ठहर्छ, ब्राह्मण वैद्यलाई दामल गर्नू।
कुटपिट, ज्यूजखमबारे
अर्काको नाक काट्नेलाई छ वर्ष, एउट आँखा फोर्नेलाई छ वर्ष कैद गर्नू। दुवै आँखा फोर्नेलाई ऐनबमोजिम अंशसर्वस्व गरी आँखा फुटेकालाई दिलाई आँखा फोर्नेलाई दामल गर्नू। स्वास्नीहरूबीच अथवा लोग्नेहरूबीच झगडा भयो, लोग्ने स्वास्नीको झगडा भयो, झगडामा नाक र कानको लोती चुँडालिदियो, औँला टोकी छिनाइदियो, तर यस्तो गर्नेले खुन हुनेको चित्त बुझाई उसले केही नगर्नू भन्यो भने राजीनामा लेखाई छोडिदिनू।
खुन हुनेले मानेन र निसाफ गरिदेऊ भन्यो भने नाकको टुप्पो दाँतले टोकी चुँडाल्नेलाई तीन वर्ष, कान टोकी चुँडाल्नेलाई दुई वर्ष, औँला टोकी चुँडाल्नेलाई एक वर्ष कैद गर्नू। म्यादको रुपैयाँ दोब्बर लिई छोडिदिनू। अरू अंगमा दाँतले टोकी रगत निकाल्नेलाई १० रुपैयाँ दण्ड गर्नु। कसैले कसैलाई दाँत झर्ने गरी कुट्यो र कुटिने मानिस फिराद गर्न आयो भने जति दाँत फुस्किएको छ, दाँचैपिच्छे ६०/६० रुपैयाँको दरले दण्ड गर्नू। रुपैयाँ नतिर्नेलाई प्रतिमहिना पाँच रुपैयाँका हिसाबले कैद गर्नू।
गाली-बेइज्जतीबारे
लोग्नेमानिसले लोग्नेमानिसलाई झगडाका क्रममा धोती फुकाली देखायो भने दुई रुपैयाँ दण्ड गर्नू। लोग्नेमानिसले सधवा, विधवा, कन्यालाई झगडाका क्रममा धोती फुकाली देखायो भने २० रुपैयाँ; वेश्या र कमारीलाई धोती फुकाली देखायो भने दुई रुपैयाँ दण्ड गर्नू।
स्वास्नीमानिसले स्वास्नीमानिसलाई झगडाका क्रममा गुन्यू फुकाली देखाएमा दुई रुपैयाँ दण्ड गर्नू। स्वास्नीमानिसले लोग्नेमानिसलाई झगडाका क्रममा गुन्यू फुकाली देखाएमा दुई रुपैयाँ; जहान, परिवार, इस्टमित्र, सधवा, विधवा, कन्या, छोरीबुहारी, आमा, बज्यैहरू बसेको ठाउँमा गुन्यू फुकाली देखाउनेलाई १० रुपैयाँ दण्ड गर्नू।
अभक्ष्य वस्तु खुवाउनेबारे
उपाध्याय ब्राह्मणले अर्कैकी उपाध्याय ब्राह्मणीको मुखमा लिंग हालेर वीर्यपात गरायो अथवा झरेको वीर्य ख्वायो भने पाँच सय रुपैयाँ तिराउनू। उपाध्याय ब्राह्मणले राजपुत, जैसी जातकी स्त्रीको मुखमा त्यस्तो गर्यो भने ४ सय ५० रुपैयाँ; तागाधारी क्षत्री स्त्रीलाई गर्यो भने चार सय रुपैयाँ; नमासिने मतवाली जातकी स्त्रीलाई गर्यो भने २ सय ५० रुपैयाँ; मासिने मतवाली जातकी स्त्रीलाई गर्यो भने दुई सय रुपैयाँ; पानी नचल्ने जातकी स्त्रीलाई गर्यो भने १ सय ५० रुपैयाँ; छोइछिटो हाल्नुपर्ने जातकी स्त्रीलाई गर्यो भने एक सय रुपैयाँ दण्ड गर्नू।
रुपैयाँ नतिर्नेलाई ऐनबमोजिम कैद गर्नू। छिटो हाल्नुपर्ने जातले तागाधारीलगायत पानी नचल्ने छिटो हाल्नु नपर्नेसम्मका जातका मानिसका श्रीमतीको मुखमा वीर्यपात गरायो अथवा झरेको वीर्य ख्वायो भने मासिदिनू (दास बनाइदिनू)। छिटो हाल्नुपर्ने जातले आफ्नै जातका मानिसकी श्रीमतीमाथि यस्तो काम गर्यो भने सय रुपैयाँ दण्ड गर्नू। नतिर्नेलाई ऐनबमोजिम कैद गर्नु।
थुक्नेबारे
ब्राह्मण जातको मानिसले राजपुत तागाधारी जातका मानिसको मुखभित्र पर्ने गरी थुक्यो भने पाँच रुपैयाँ दण्ड गर्नू। नमासिने मतवाली जातका मानिसलाई थुक्यो भने दुई रुपैयाँ, मासिने जातकालाई थुक्यो भने एक रुपैयाँ जरिवाना गर्नू। पानी नचल्ने जातले ठूला जातका मानिसको मुखभित्र पर्ने गरी थुकेमा २० रुपैयाँ जरिवाना गर्नू।
ज्यान मार्ने उद्योगबारे
उपाध्याय ब्राह्मण, जैसी ब्राह्मण र तिरहुतिया (मैथिली) भट्ट देशी ब्राह्मण कसैले मानिस मार्यो भने ऐनबमोजिम अंश सर्वस्व गरी दामल गर्नू। राजपुत, तागाधारी, क्षत्री, मतवाली, शूद्र जातकाले मानिस मार्यो भने ज्यानको बदलामा ज्यान लिनू।
गोवधबारे
जानीजानी गाई मार्नेलाई दामल गर्नू। गाईलाई कसैले जानीजानी हतियार चलायो तर गाई मरेन भने नमासिने जातलाई ऐनबमोजिम अंश सर्वस्व गरी छाडिदिनू। मासिने जातलाई मासिदिनू। गोर्खा राज्यभर मुलुकमा गाई मार्न भनी हतियार झिकी कसैले काट्न तयार भएको देख्यो, मार्न हुँदैन नमार भन्दा पनि अटेर गरी मार्यो भने गोवध गर्नेलाई उसै दिन, उसै बेला, उसै ठाउँमा काटी मारिदिनेलाई खतबात लाग्दैन।
ठूलाबडाको सवारीबारे
बग्गीको सवारी आउँदा छाता ओड्नेले छाता बन्द गरेर बाटो छोडिदिनू। बाटो छोडेन अथवा छाता बन्द गरेन भने र छाता देखेर घोडा झस्की बग्गी बिग्रियो अथवा सवारीलाई जखम भयो भने बग्गी ठीक गर्न लगाई ५० रुपैयाँ जरिवाना गर्नू।
साँघुरो बाटोमा बग्गीको सवारी आउँदा हात्तीका सवारले बाटो छोडिदिनू। घोडाका सवारले बायाँ किनारा लगाइदिनू। हात्ती, घोडाका सवारले बाटो नछोडी सवारलाई जखम भयो र बग्गी बिग्य्रो भने बग्गी बनाउन लगाई ५० रुपैयाँ दण्ड गर्नू। नतिर्नेलाई ऐनबमोजिम कैद गर्नू। सवारीको घोडाले पछाडि हानेर मानिस मारोस् अथवा जखम बनाओस्, सवार र सइस कसैलाई पनि खतबात लाग्दैन।
छोइछिटोबारे
कृस्तान (क्रिस्चियन), मुसलमान, कामी, सार्की, दमाईलगायत पानी नचल्ने छोइछिटो समेत हाल्नुपर्ने जातका मानिसले छोएको अन्न उसिनेको र भुटेको छैन र यदि यसरी छोएको अन्न कुटेको, पिसेको, छोडाएको अन्न हो भने बिटुलो हुँदैन। पानी नपरेको काँचो माछामासु, तमाखु, मगमगाउने गुलाफपानी, मसला, सुगन्ध आउने फलफूल त्यस्ता मानिसले छोए भने पनि अथवा त्यस्ता सामान ती मानिसको घरभित्र छ भने पनि बिटुलो हुँदैन। यिनीहरूले छोएका यस्ता कुरा यिनीहरूलाई नछोईकन अलग्ग बसी खाँदा हुन्छ।
पानी नचल्ने र छोइछिटोसमेत हाल्नुपर्ने जातले छोएको माटाका भाँडामा पानी छ भने भाँडो बिटुलो हुन्छ। पानी नपरेको माटाको भाँडा बिटुलो हुँदैन। यदि उनीहरूले काठका भाँडा, चिनियाँ भाँडा, बोतल, सिसी छोएका छन् भने धोइपखाली सुकाएपछि चोखो हुन्छ।
कसैले पानी र पानी परेको वस्तु पानी नचल्ने र छोइछिटोसमेत हाल्नुपर्ने जातका मानिस अथवा सुँगुरले छोएको देख्यो, तर कसैलाई भनेन र त्यसलाई तागाधारी जातले खाएपछि मात्र जाहेर गर्यो भने थाहा पाएर पनि नभन्नेलाई १० रुपैयाँ दण्ड गर्नू। खानेबाट गोदान लिई प्रायश्चित्त गराइदिनू, शुद्ध हुन्छ।
बिहाबारीबारे
तागाधारी जातका छोरी नमासिने मतवाली जात, नेवार जात, मासिने मतवाली जातले जात ढाँटी बिहे गरेछ भने त्यस्ताको ऐनबमोजिम अंश सर्वस्व गरी दामल गर्नू। तागाधारी जातका बाबुआमाले जनै नलाउने मतवाली जातलाई घटी जात हो भनी जान्दाजान्दै पनि छोरी दिएछन् भने तीन वर्ष कैद गर्नू। म्यादको रुपैयाँ लिएर छोडिदिनू। बाबुले जानीजानी दिएको होस् अथवा नजानी दिएको होस्, त्यो केटी त्यसले राख्न पाउँदैन। छुटाइदिनू।
करणीबारे
मासिने जात कसैले छाइछिटो हाल्नुनपर्ने, पानी नचल्ने जातका स्वास्नीको करणी मात्र गरेको रहेछ, स्वास्नीको हातको भातपानी खाएको रहेनछ, कसैले प्रायश्चित्त नगरी आफूसरहका र आफूभन्दा घटीका पानी नचल्ने जातका सधवाको करणी गरेछ भने त्यस्तालाई मासी (दास बनाई) प्रायश्चित्त दिनू।
उपाध्याय ब्राह्मणलगायत तागाधारी जात कसैले आफ्नो छोरापट्टिमा सात पुस्ता, छोरीपट्टिमा तीन पुस्तासम्मका ११ वर्ष उँभोका स्वास्नीमानिसलाई करणीका आशयले फकाउनेलाई ४० रुपैयाँ, मुखले फकाउँदै हातसमेत समाउनेलाई ८० रुपैयाँ, चुम्बनसमेत गर्नेलाई सय रुपैयाँ, स्तन समाउनेलाई १ सय ५० रुपैयाँ, लडाएर गोडासमेत समाउनेलाई पाँच सय रुपैयाँका दरले दण्ड गर्नू।
मासिने मतवाली जातका ११ वर्ष नाघेका कन्या, सधवा विधवा स्वास्नीले आफूभन्दा उपल्ला, आफूसरह अथवा आफूभन्दा घटी जातकालाई करणीको आशयले अँगालो हाल्न जाने, चुम्बन गर्ने, स्तन मडाउने, राजीखुशीले पैतालादेखि शिरसम्म समाउन दिने, अर्काको धोतीपटुका, कम्मर समाउनेमध्ये एउटा कुरा मात्रै गरेको रहेछ भने त्यस्ता स्वास्नीको जात जाँदैन।
आफ्नै जातमा रहन्छे। अनाचार गरेबापत पाँच रुपैयाँ दण्ड गर्नू। यस्ता स्वास्नी आफैँले राखी सन्तान जन्मियो भने सध्ये सन्तानसरह बराबर अंश पाउँछ। त्यस्ता स्वास्नी कसैसित पोइल गई भने जार हान्ने जातले जार हान्नू, बिहा खर्च लिने जातले बिहा खर्च लिन पाउँछ। यस्ता स्वास्नी राख्दिनँ भनी खानलगाउन नदिईकन लोग्नेले निकालेका स्वास्नी अर्कासित पोइल गई भने जार हान्न पनि पाउँदैन। ज्यान काटे ज्यानको बदला ज्यान हुन्छ। बिहा खर्च लिन पनि पाउँदैन।
बालिका बलात्कार
पानी नचल्ने जातमा छोइछिटो हाल्नुनपर्ने मासिने जातले उपाध्याय, राजपुत, जैसी, तागाधारी, नमासिने मतवाली जातका ११ वर्षमुनिका अविवाहित कन्या, विधवा अथवा सधवाको करणी गरेमा जबर्जस्ती ठहर्छ। सधवा भए साधु (श्रीमान्)को चाहनाअनुसार गर्नू। अविवाहित कन्या र विधवा भए ऐनबमोजिम अंश सर्वस्व गरी दामल गर्नू।
पशुकरणीबारे
गाई बिराउने तागाधारी जातका मानिसलाई ऐनबमोजिम अंश सर्वस्व गरी जनै झिकेर नमासिने शूद्र जातमा मिलाइदिनू। नमासिने मतवाली जातले बिरायो भने सर्वस्व लिएर मासिने जातमा मिलाइदिनू, यस्ताको पानी चल्छ। कसैले आफ्नै भैँसी करणी गरेछ भने ३० रुपैयाँ; भेडाबाख्रा गरेछ भने १० रुपैयाँ; घोडी, गधिनी र ऊँटनीलाई गरेछ भने २० रुपैयाँ; कुकुर्नी र सुँघुर्नीलाई गरेछ भने ३५ रुपैयाँ दण्ड गर्नू।
source;annapurnapost.com
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


