Spread the love


–डिक बहादुर विश्वकर्मा

Image may contain: 1 person, closeup


(हिन्दू समाज र त्यसका निर्देशकले दलितप्रतिको परम्परागत भेदभाव र अत्याचारलाई रीतिस्थिति संरक्षणको नाममा कायमै राख्न चाहन्छन् र जिम्मेवार निकायबाट यसमा ध्यान दिइँदैन भने निकट भविष्यमा यो समस्याले छिमेकी देश भारतमा बेलाबखत भइरहने साम्प्रदायिक दंगाजस्तै बिकराल रुप लिन बिथिबेर लाग्नेछैन )
गुल्मी जिल्लाको दरबार देवीस्थान गाविस–९ राक्सेडाँडामा गाविस एवं छिमेकी अर्घाखाँची जिल्लासमेतका दलित तथा गैरदलित मिली चन्दा उठाएर करिब साढे चार लाख रुपैयाँको लागतमा गतवर्ष बनाएको मालिका मन्दिरमा यही ०७० मंसिर ९ गते आइतबारका दिन गोकर्ण नेपालीको नेतृत्वमा स्थानीय दलित पसेर पूजागरी धूपध्वजा चढाउँदा अछुत जातले परम्परा तोडी मन्दिरमा पसेर अपवित्र पारेको तथा सामाजिक शान्ति खल्बल्याएकोु भन्दै अशोकथापा र मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज आचार्यको अगुवाइमा स्थानीय बाहुनक्षेत्री लगायत गैरदलितले कडा विरोध गर्नुका साथै भविष्यमा यस्तो दोहोरिएमा ती दलितलाई रुखमा झुन्ड्याएर मार्ने धम्की दिएको प्रकाशित खबरले नेपाली दलित आक्रान्त बनेकाछन् । पीडित दलितको गुहारपछि घटनास्थल पुगेका सञ्चारकर्मी सँग उत्पीडक–नाइके अशोकथापाले उल्टै `गोकर्णेलाई सम्झाइदेऊ भाइ ! नत्र जेपनि हुन सक्छु ‘८ भन्नुले पनि स्थितिको गाम्भीर्यता लाई प्रस्ट्याउँछ । ‘एकैचोटि समानता गर्न सकिदैन, क्रमैसँग हुने कुरो हो, यो कुरा बाहिर ल्याउनु हुँदैन, हामी आफैमा मिल्नुपछर्’ भन्ने डिल्लीराज आचार्यको भनाइले घटनालाई दबाउन खोजेको पनि देखिन्छ ।
दलितलाई सताउने यस्ता घटना देशभर दिनहुँ अनगिन्ती घटिरहेका छन् । सञ्चारकर्मी कसैले पीडितउपर दयादृष्टि राखेर प्रकाशमा ल्याइदिए मात्र जगजाहेर हुन्छन्, अन्यथा झन्डै ९० प्रतिशत घटना त्यसै दबेर गएका छन् । प्रकाशमा आएकै घटना पनि पीडकपक्षको डरत्रासका कारण स्वयं पीडितले नै कारवाही अगाडि बढाउन नचाहेर बीचैमा सेलाइन्छ । उदाहरणार्थ–बाजुरा जिल्लाको बुढीनन्दामा लाग्ने वार्षिक मेला सन्दर्भमा ०७० सालको जनैपूर्णिमा–मेलाको सुरक्षार्थ खटिएको प्रहरी टोलीका प्र.ज. जनक विकलाई डेढ दिनको ठाडो उकालो पार गरी चरीदह भन्ने निर्जन ठाउँमा पुगिसकेपछि त्यहीं भेट भएका बुढीनन्दा जाने तीर्थालु सहितका पुजारी श्रीलालबोहराले अछुत जातले मेला अवधिभर मेलास्थल टेक्न हुँदैन । अतः प्रहरी भए पनि जनक विक त्यहाँ जान पाउँदैन, यदि निज जाने भए आफूहरुले मेला र यात्रा स्थगित गर्ने भनी धम्क्याएको र त्यसमा आफ्नै प्रहरी टोलीले पनि समर्थन जनाई आफूलाई एक्लै छोडेर अगाडि बढेकाले त्यो निर्जन क्षेत्रमा आफू असुरक्षित भै नजिकैको ओडारमा रात गुजार्नु परेको उजुरी प्र.ज. विकले सदरमुकाम मार्तन्डीमा आई प्रमुख जिल्ला अधिकारी र सञ्चारकर्मी समक्ष गरे । समाचार प्रकाशित भएपछि प्रहरीटोलीका प्रमुख अ.स.इ. शेरबहादुरचन्द उपर कारवाहीको सम्भावना देखिनासाथ भित्रभित्रै यस्तो चक्कर चल्यो कि घरपायक मिलेको आफ्नो जागिरमा आपत आउने डरले प्र.ज. जनक विक बोल्नै छाडे । फलतः यसबारे कारबाही अघि बढाउन कम्मर कसेका दलित नेतृत्वलाई प्रमाणको अभाव हुन जाँदा विभिन्न राष्ट्रिय सञ्चार माध्यममा ३/४ दिनसम्म लगातार चर्चामा आइसकेको भएपनि त्यो कुरो त्यसै सेलाउन बाध्य भयो । ०७० सालको तिजमा गुल्मी तम्घासको मन्दिरमा पंक्तिबद्ध श्रद्धालु महिलालाई टीका लगाइदिने क्रममा पुजारीले दलित महिलालाई देख्नासाथ टीका नलगाई टाढाबाट फालिदिए । यो विवाद सि.डि.ओ.सम्म पुग्यो । आखिरमा छल र बलको फल निकालियो, जस अनुसार अब पुजारीले कसैलाई नछुने, टीका पनि नलगाइदिने, मन्दिरबाहिर टपरीमा राखिएको टीको सबै श्रद्धालुले आ–आफै लगाउने मत्स्य निर्णय भयो ।
यस्ता चर्चित घटना केही पुराना पनि हेरौं– रुपन्देही जिल्लाको सौफर्साटिकर गाविस–१ मा, स्थानीय दलित युवा बि.सं. ०५५ सालको तिहारमा भैलो खेलेर संकलित रकमले गाउँमा केही गर्ने विचार गर्दा छिमेकी सवर्ण समेतको रायले त्यसमा थप चन्दा सबैबाट उठाई, निर्माण गरेको दुर्गा मन्दिरमा ०५६ सालको दशैं अवसरमा निर्माता अविराम विश्वकर्मा र पदमबहादुर विश्वकर्माको अगुवाइमा दलितहरु सक्रिय भै नवरात्र दुर्गापूजा गर्न लागे । त्यो कुरा छिमेकी बाहुन–क्षेत्रीलाई पटक्कै मन परेन । विवाद मिलाउन बैठक बसेका वेला सहभागी एउटा गुरुङले कसैको इशारामा चिर्पट दाउराले एकजना दलितको खप्परमा बजायो र रगतपच्छे पारी ढलायो । कुरो प्रहरी हुँदै सिडिओ समक्ष पुग्यो । यो लेखक पनि सम्मिलित त्यो छलफलमा सवर्णहरुले दलितसँग मिलेर पूजाआजा गर्न किमार्थ मानेनन्, उल्टो सबै मिली फेरि पैसा उठाई आफ्ना लागि छुट्टै मन्दिर बनाइनुपर्ने माग राखे । प्रशासनले उनीहरुको कुरालाई घुमाएर समर्थन गर्न खोजेपछि दलितले पनि देशको बँटवारा नभई छुट्टै मन्दिर बन्न नसक्ने, यदि त्यसैकारणले सवर्णहरुले अर्को मन्दिर बनाएमा हिन्दूका नाताले त्यसमा पनि आफूहरु भित्रै पसेर पूजा गर्ने र बलिदान हुन सँधै तयार रहने अडान लिए । अन्ततः प्रशासनले विवाद मिलाउन सकेन, सवर्णहरुले त्यो मन्दिर नै त्यागे, तथापि छुट्टै मन्दिर पनि बनाएका छैनन् । यसैगरी दलितहरु पूर्वसभामुख दमननाथ ढुंगानाको अगुवाइमा बि.सं.०५७ सालमा र मानवाधिकारवादी पूर्णप्रकाश यात्रीको अगुवाइमा ०५८ सालमा गरी दुईपटक डोटीको शैलेश्वरी मन्दिरमा प्रवेश गर्न खोज्दा भएको झगडा र असफलता, ०५५ सालमा तनहुँको थानीमाई मन्दिरप्रवेशमा दलितहरु पिटिएको र ०६१ जेठमा कैलालीको लालपुरस्थित चण्डेश्वरी भगवती मन्दिरमा दलितहरु प्रवेश गरी पूजा गर्न खोज्दा भएको लडाइँ, ०६१ मंसिरमा पत्रकारद्धय रणेन्द्र बराली र खगेन्द्रसंग्रौलाको अगुवाइमा दलितहरु चितवनको लक्ष्मीनारायण बेंकटेश मन्दिरमा प्रवेश एवं पूजा गर्न खोज्दा भएको लडाइँ, पाल्पा तानसेनको भगवती मन्दिर र बाग्लुङको कालिका मन्दिर प्रवेशमा भएका त्यस्तै झगडा नेपालका विगत र वर्तमानका चर्चित लडाइँ झगडा हुन् । चर्चामा आउने मौका नपाएका यस्ता झगडा र मारपिट गनि नसक्नु छन् र अचेल बढ्दो क्रममा छन् । जतिजति दलितले अक्षर चिन्दैछन्, उतिउति आफ्नो अधिकार र समानताको खोजी गर्दैछन् । अब पनि हिन्दू समाज र त्यसका निर्देशकले दलितप्रतिको परम्परागत भेद्भाव र अत्याचारलाई रीतिथिति संरक्षणको नाममा कायमै राख्न चाहन्छन् र जिम्मेवार निकायबाट यसमा ध्यान दिइँदैन भने निकट भविष्यमा यो समस्याले छिमेकी देश भारतमा बेलावखत भइरहने साम्प्रदायिक दंगाजस्तै बिकराल रुप लिन बिथिबेर लाग्नेछैन । देशको सामाजिक अवस्था यस्तो हुँदा पनि विश्व हिन्दूपरिषद् वा विश्वहिन्दू महासंघ भने राणा वा पञ्चेकालमा झैं दलितलाई जबरजस्ती हिन्दू धर्मानुयायी गनेर नेपालमा ९३ प्रतिशत जनता हिन्दूछन् भन्नमै मख्ख छ र `स्वधर्मे निधनम् श्रेय परधर्मः भयावह ‘ भन्दै धर्मान्तरणको कडा विरोध गरी नेपालमा हिन्दु राष्ट्रको पुनरुत्थान हुने दिवास्वप्न देख्दैछ ।
यदि दलितलाई हिन्दू धर्ममै जमाएर राख्ने हो र देशैभरि चलिरहेको छुवाछुत विषयक लडाँइ झगडा साम्य पार्ने हो भने अब महासंघले पुरानो मानसिकता च्यात्तै छोडी जहाँजहाँ छुवाछुत वा जातीय विभेदको झगडा देखिन्छ, त्यहाँ तुरुन्त हस्तक्षेप गरी विदेशी विधर्मी जोसुकैलाई पनि आफ्नै सजातीय सरह सर्वस्वीकार गरिरहेको हिन्दु समाजलाई सम्झाई दलितलाई पनि त्यसैगरी सर्वस्वीकार्य गर्न, गराउन पहल गर्नुपर्छ । अन्यथा हिन्दु समाजमा ऐले `छोरीले भन्छे माइती ! माइती !!, माइतीले भन्छ किन आइती ?’ को स्थितिमा हेपिएका दलित `यस्मिन् धर्मे न सम्मानो न प्रितिर्न च बान्धवा , न च विवेक गम कश्चिद् न तद् धर्म परिपालयेत ‘भन्दै आफ्नो मान सम्मान कत्ति नगर्ने हिन्दुधर्मलाई त्यागेर सामूहिक रुपमा अन्य धर्ममा जानेछन् र कसैले रोक्न सक्नेछैन ।
(नयाँ पत्रिका, बुधवार २६ मंसीर २०७०, काठमाडौं)