कोरोना र बढ्दो वर्गीय खाडल
–दिनेश पौडेल
हामी “ट्रमा” मा बाँचिरहेका छौँ । तर पनि आज बाँचे भोलि त जसरी पनि उँभो लागिन्छ भन्ने विश्वासमा छौँ हामी । कोरोना सन्त्रासको सबैभन्दा ठूलो मारचाहिँ अबोध, अजान बालबालिकामा परिरहेको छ, किशोर–किशोरीमा परेको छ ।

यस्तो बेलामा पनि शिक्षाको कुरा गरिरहेका छौँ हामी, किनभने बालबालिका हाम्रा सबैभन्दा पहिलो सरोकार हुन् । शिक्षा व्यवस्थामा सङ्कट आयो भने हाम्रा सन्तान धेरै पछि पर्नेछन् भन्ने हामीलाई थाहा छ । शिक्षाबाट यदि एक पुस्ता विमुख भयो भने देश एक युग पछि पर्नेछ भन्नेमा हामीलाई दुबिधा छैन । मुलुकलाई यस त्रासबाट यथाशक्य चाँडो त्राण चाहिएको छ र शिक्षा यस्तो बेलामा हाम्रा लागि मृतसञ्जीवनी बुटी बन्ला कि भन्ने हामी सबैमा आशा छ ।
एकातिर निजी विद्यालयहरूले सूचना–प्रविधिको माध्यमबाट शिक्षण–सिकाइलाई निरन्तरता दिएका छन्, अर्कातिर सरकारी विद्यालयका विद्यार्थीहरू टुहुरा झैँ भौँतारिइरहेका छन् । शिक्षा व्यवस्थाको भयावह वर्गीय खाडल आज एकदम उग्र रूपमा हाम्रा सामु देखिएको छ । “समाजवाद–उन्मुख राज्यव्यवस्था” भनेर संविधानले किटेको छ तर हामी लस्कर लागेर त्यस संवैधानिक वाक्यलाई कुल्चँदै अर्को बाटो हिँडिरहेका छौँ । जे भइरहेको छ, बेठीक भइरहेको छ र हामी त्यसमा निरुपाय रमिते बनेका छौँ ।
निजी विद्यालयका शिक्षकहरू आफूलाई वैकल्पिक माध्यममा शिक्षा प्रदान गर्नका लागि रातोदिन ज्ञान, सीप र प्राविधिक दक्षता बटुलिरहेका छन् । उनीहरू नयाँनयाँ शैक्षिक सामग्री र कक्षा सञ्चालनका तरिका सिक्न र व्यवहारमा लागू गर्न मरिमेटेर तयार गरिरहेका छन् । रातोदिन अनेक तालिम लिइरहेका छन् । उनीहरू आफूलाई युगानुकूल तयार गर्न व्यग्र छन् । कसरी सूचनाप्रविधिलाई शिक्षा–शिक्षणसँग बढीभन्दा बढी सम्बन्धित गर्न सकिन्छ भनेर लागेका छन् ती ।
काठमाडौँलगायत देशका प्रमुख सहरी क्षेत्रका स्रोत–साधनसम्पन्न निजी विद्यालयका शिक्षकहरूले विभिन्न माध्यमबाट आफ्ना विद्यार्थीहरूसँग निरन्तर सम्पर्क कायम गरेका छन् । तिनीहरू विशेष कक्षा लिइरहेका छन् । विद्यार्थीहरू पढ्न पाइरहेका छन् । अभिभावक र विद्यालय सञ्चालकहरूले कसो गरेर हुन्छ शिक्षक र विद्यार्थीबीच निरन्तर सम्पर्क, संवाद र सिकाइको वातावरण जुटाइरहेका छन् । अनलाइन कक्षाहरूमा कक्षा कार्य र गृहकार्य लिने–दिने, पढाउने, छलफल गर्ने काम एकदम सफलतापूर्वक भइरहेका छन् । हाजिरी जबाफ, कथालेखन, निबन्धलेखन, वादविवाद र वक्तृत्वकलाजस्ता अतिरिक्त क्रियाकलाप पनि निरन्तर गराइरहेका छन् ।
सक्षम निजी विद्यालयहरूले यसबेला पाठ्यक्रम र पाठ्यक्रमबाहिरका जीवनोपयोगी शिक्षा, नैतिक शिक्षा, आध्यात्मिक–सांस्कृतिक शिक्षा आदि अनेक कुराहरू पढाइरहेका छन् । यस्ता शैक्षिक गतिविधिमा एकदम विविधता र अन्यौल पनि छ । सरकार र सरोकारवालाहरूले सूचना–प्रविधिको माध्यमबाट हुने शिक्षालाई निरुत्साहित गर्नुका कारण यसमा सरकारको नियन्त्रण र अनुगमनमा हुने कठिनाइ हो । तर कसैले चाहँदैमा आजको युगमा शिक्षक र विद्यार्थी–अभिभावकबीच छिरेर चलिरहेको सिकाइलाई रोक्न भने सकिँदैन । शिक्षक र विद्यालयलाई विश्वासमा लिनु नै एकमात्र समाधान हो ।
स्कुलहरू बन्द भए पनि शिक्षण–सिकाइ निरन्तर चलाएर निजी विद्यालयका शिक्षकहरूले सुविधासम्पन्न सहरी र धनी परिवारका धेरै बालबालिकामा कोरोनाका कारण पर्न जाने मनोवैज्ञानिक त्रास, विचलन र चारित्रिक स्खलनलाई केही हदमा भए पनि रोकेका छन् । यस सेवाका लागि अभिभावक र शिक्षक दुवै धन्यवादयोग्य छन् । यस वर्गले यस्तो दारुण समयमा पनि मेहनतपूर्वक गरेको शैक्षिक उपलब्धि देशका लागि बहुमूल्य योगदान हो । यस्तो सन्त्रासपूर्ण बेलामा पनि निराश र चुप नबसेर शिक्षकवर्गले वैकल्पिक माध्यमबाट भए पनि शिक्षण–सिकाइलाई निरन्तरता दिनु प्रशंसायोग्य कुरा हो । आज उनीहरूले जेजति गरिरहेका छन् त्यो राष्ट्रहितमा छ ।
सबैले आफ्ना–आफ्ना कार्यक्षेत्रमा कसरी सामाजिक दूरी कायम राखेर व्यवसाय वा कामलाई निरन्तरता दिन सकिन्छ भनेर वैकल्पिक उपाय खोज्न निजी विद्यालयहरू र तिनका शिक्षकबाट सिकौँ । अब चुप लागेर बस्न सकिँदैन, बस्नुहुँदैन । हामी जाग्न ढिलो हुन लाग्यो ।
उता सरकारी विद्यालयका शिक्षकहरूले यी सब वैकल्पिक उपायमा उति ध्यान दिन सकिरहेका छैनन् । सरकारी विद्यालयका शिक्षक निजी विद्यालयका शिक्षकभन्दा आर्थिक–पेसागत रूपले सुरक्षित छन् र तालिम, शैक्षिक योग्यता आदिका हिसाबले अब्बल पनि छन् । केही शिक्षक सङ्गठनले यसै मौकामा तालिमका केही नयाँ कार्यक्रम चलाइरहेका छन् । तर पनि ती खासै प्रभावकारी छैनन् । यस मौकामा सरकारले फुर्सतिला सम्पूर्ण शिक्षकहरूलाई दिनको पाँच–सात घण्टे शिक्षक प्रशिक्षण तालिम चलाउनुपर्ने हो । जब कक्षा सुरु हुन्छन् अनि तालिमको नाममा शिक्षकलाई कक्षाबाट उन्मुक्ति दिने हाम्रो रोग केही भए पनि कम हुने थियो ।
कतिपय सरकारी विद्यालयका व्यवस्थापन समिति र सम्बन्धित प्रशासनिक विभागहरू शिक्षकहरूलाई स्कुलमा बोलाएर किताब बाँड्न लगाउने, माइकिङ, रेडियो र टिभीबाट पढाउने कोसिस गरिरहेका छन् । कक्षाभित्र राखेर प्रत्यक्ष पढाउँदा त सिकाइ उपलब्धि त्यति न्यून थियो, अब रेडियो–टीभीबाट सिकाएर कुन स्तरको उपलब्धि होला र । केही शिक्षकहरूमा देखिने न्यून नैतिक मनोबल, चारित्रिक विचलन, निराशा, मैले गरेर के हुन्छ र भन्ने प्रवृत्ति वा पेसाप्रतिको अनास्था निराकरणका लागि यही मौकामा केही गरिहाल्नुपर्ने हो ।
कम्तीमा पनि यसैबेला अध्ययन, तालिम, पेसागत निष्ठा र योग्यताको परीक्षा लिएर शिक्षकलाई ग्रेडिङ गर्नुपर्ने हो । पुराना, थोत्रा र खिया परेका शिक्षकलाई वर्ष गनेर ‘ए’ क्लास बनाइएको छ, त्यस ग्रडिङ पद्धतिलाई भत्काएर निष्पक्ष र अधिकारप्राप्त आयोग बनाई उनीहरूको अध्ययन, ज्ञान, शैक्षणिक सीप, अनुभव र योग्यताको पुनर्परीक्षण गरेर शिक्षकहरूको स्तरनिर्धारण गर्नुपर्ने हो । आजका शिक्षकहरूलाई पुनः वर्गीकरण गरिदिने हो भने एउटा सुन्दर परम्पराको सुरुआत हुने थियो र सबै शिक्षकले आफूलाई जहिल्यै ताजा र योग्य बनाइरहने थिए ।
अर्कातिर सामुदायिक विद्यालयलाई क्वारेन्टाइन बनाएर हदैसम्मको दुरुपयोग गरिएको छ । भोलि ती कक्षामा नानीहरूलाई पठाउँदा तिनमा पर्न जाने मनोवैज्ञानिक त्रास कसरी हटाउने भन्ने बारेमा कमै चिन्तन र गृहकार्य भएको देखिन्छ । विद्यालयका कक्षाकोठामा क्वारेन्टाइनमा बसेका कोही मानिस कुनै कारणवश मर्न पुगेमा त्यो विद्यालय भूतघर बन्यो भन्ने डर बच्चाहरूबाट कसरी हटाउने हो, आजै सोचौँ । विद्यालयलाई क्वारेन्टाइन बनाउने गम्भीर गल्ती तुरुन्त सच्याऔँ । देशभर कोरोनाको बारेमा यति त्रास फैलिएको छ कि यो नै मानवीय सभ्यताका लागि सबैभन्दा खतर्नाक रोग हो भनेर आम बुझाइ बन्न थालेको छ । बाढीपीडितलाई आश्रय दिएजस्तो होइन कोरोनाको विषयमा विद्यालय भवन ।
महामारीको यस जटिल परिस्थितिमा एकातिर एक वर्गका बालबालिका पूर्णगतिका साथ सिकाइमा लागेका छन् भने अर्काेतिर समाजका बहुसङ्ख्यक बालबालिका शिक्षाका कुनै पनि अवसरबाट वञ्चित छन् । यसले समाजमा वर्ग–वर्गबीचको खाल्टो फराकिँदै छ । हामीसित यस समस्याको समाधान खोइ ? अनेक विवादास्पद विषयमा नारा उराल्न सडकमा पुग्ने युवावर्ग र राजनीतिक दल यस विषयमा शङ्कास्पद ढङ्गले चुप छन्, किन ? किनभने यो मुद्दा बोली नभएकाहरूको हो, गरिबको हो ।
आफैँ अगाडि जान खोजिरहेकालाई रोक्नु समाधान होइन। नहुनु मामाभन्दा कानो मामा जाति भन्ने उखान छ, सबैलाई पढाउन सकिँदैन भने जतिलाई सकिन्छ पढाऔँ । हामीले कोभिडमुक्त र बाहिरी मानिस आउजाउ नहुने सानातिना विद्यालयहरू छानीछानी खोल्न थाले हुन्छ भन्ठान्छु म । बाहिरी मानिस जाने सबै ढोका बन्द गर्न सकिने र सङ्क्रमितहरू नभेटिएका गाउँका स्कुलहरू पनि खोलिहालौँ भन्ठान्छु म । त्यसका लागि अलिकति होसियारीपूर्ण अध्ययन गर्नु भने जरुरी हुन्छ । स्कुल खोलेकै कारण कोरोना फैलन जाने डर भएका ठाउँमा भने यसरी स्कुल नखोलेकै बेस ।
आज मेरो यस टिप्पणीको मूल आशय स्कुल बन्द हुनाले समाजमा वर्गविभाजनको खाडल झन् फराकिलो हुन जाने भयो भन्ने हो । निजी विद्यालयलाई अनलाइन कक्षा चलाउनबाट रोकेर वर्गविभाजनको यो खाडल रोकिनेवाला छैन । साधनसुविधासम्पन्न अभिभावकले आजको जमानामा बालबच्चालाई घरैमा राखेर भए पनि इन्टरनेटबाटै सबै विषयका शिक्षकलाई पढाउन लगाइरहनेछन् । समाजको एउटा वर्गको सानो समूह एकदम योग्य, शिक्षित, अनुभवी, कुशल, सभ्य, नैष्ठिक, सकारात्मक, उच्च मनोबलयुक्त र साधनसुविधायुक्त बन्ने र बाँकी वर्ग चेतनाहीन, गतिहीन, अकर्मण्य र निराश बन्न पुग्यो भने त्यो झन् ठूलो समस्या हुनेछ । कसरी हुन्छ, देश बचाऔँ ।
(२०७७÷३÷१४, इटहरी)
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


