Spread the love

बिमला तिम्सिना

इटहरी

समस्या बन्दै असुरक्षित गर्भपतन बिमला तिम्सिना इटहरी । इटहरी उपमाहनगरपालिका वडा नम्बर ३ बस्ने १४ वर्षीया एक बालिका इटहरीकै एक २० वर्षका युवकबाट गत फाल्गुनमा बलात्कृत भइन् । बलात्कृत बालिकाको पेटमा गर्भ रहन गयो । ती बालिकाको गर्भपतनभन्दा बाहेक अर्को विकल्प थिएन । बालिकाकी आमाले ओरेक नेपालको सहयोग लिएर बालिकाको गर्भपतन गराइन् । दोस्रो । इटहरीको एक होटेलमा १४ वर्षकी एक सुस्त बालिका कामदारको रुपमा काम गर्थिन् । उनको घरमा सबै जना बौद्धिक र शारीरिक रूपमा अपांग छन् । त्यही होटेलको सुरक्षागार्डबाट बलात्कृत भइन् । घटना थाहा पाएपछि बालिकालाई होटल सञ्चालकले कामबाट निकालिदिए । पछि ती बालिकाको पेटमा गर्भ देखियो । चिकित्सकको सल्लाह अनुसार गर्भपतन त गराइयो तर स्वास्थ्यमा झन् समस्या थपिएको छ। रगत बगिरहने समस्या आइ परेको छ । इटहरीकै एक चौधरी समुदायकी १९ बर्षकी युवतीलाई गाउँकै एक युवाले प्रेम गर्ने नाटक गरेर नजिक बनाए । उनीहरुबिच शारीरिक सम्पर्कसमेत हुन थाल्यो । ती युवति गर्भवती भइन् । थाहा पाएर युवा पनि टाढा हुन थाले । घर र समाजको अवहेलना खेप्ने भयले गर्दा उनले गाउँकै औषधि प्रयोग गरि असुरक्षित गर्भपतन गराइन् । अरुले त्यो कुरा थाहा पाएपछि उनी घरमा बस्ने वातावरण नै बन्न सकेन । श्रमिक महिला साझा मन्चको संरक्षकत्वमा रहेकी उनको रक्तस्राव उच्च छ । जीवन जोखिममा छ । अनिच्छित गर्भ र असुरक्षित गर्भपतनका कारण धेर्रै बालिका तथा किशोरी, महिलाहरुको जीवन नै असुरक्षित बनेको छ । अकालमै ज्यान गुमाउनुको साथै कति मानसिक सन्तुलन गुमाएर विभिन्न यातना भोगी रहेका छन् । यस्ता पीडितहरुमध्ये केही इटहरी २ स्थिति मायाघरको आश्रयमा छन् । गर्भपतन ः बाध्यता विश्व स्वास्थ्य संगठनले अनिच्छित गर्भलाई सुरक्षित पतन गराउनका लागि आवश्यक सीप नभएका तथा तोकिएको मापदण्डअनुसारको सुविधा नभएका स्थानमा गरिने गर्भपतनलाई असुरक्षित गर्भपतन भनी परिभाषित गरेको छ । प्राकृतिक रुपमा हुने गर्भपतनलाई स्वभाविक मानिन्छ भने बलपूर्वक वा असुरक्षित गर्भपतन गराउनु महिलाको जोखिमपूर्ण अवस्था हो । ओरेक नेपालले दिएको तथ्यांकअनुसार नेपालमा अझै पनि ५८ प्रतिशत गर्भपतन असुरक्षित तरिकाबाट हुने गरेको छ । सोही संस्थाका अनुसार नेपालमा वार्षिक करिब १ लाख ८६ हजार १ सय ४४ महिलाले असुरक्षित गर्भपतन गराउने गरेको पाईएको छ । जसअनुसार नेपालमा प्रतिघण्टा २१ भन्दा बढी महिलाले असुरक्षित गर्भपतन गराइरहेका छन् । यसले नेपालमा असुरक्षित गर्भपतनको विकराल अवस्थालाई देखाउँछ । इलाका प्रहरी कार्यालय, इटहरीका प्रहरी निरक्षक मान बहादुर श्रेष्ठकाअनुसार पछिल्लो समयमा समाजमा बद्नामी हुने डरले यौन शोषणमा परेका पनि सामाजिक रूपमा समस्या पर्ने डरले घटना लुकाउन असुरक्षित गर्भपतन गराउने घटना बढेको छ। साथै ग्रामीण समुदायको शिक्षामा कमि भएका महिला तथा किशोरीहरुले अनिच्छित गर्भधारण भएको अवस्थामा आफै जथाभावी गर्भपतन गराउने औषधि सेवन गर्ने दरमा वृद्धि भएको श्रेष्ठको भनाइ छ । सानो उमेरमा वा विवाहभन्दा अघि बसेको गर्भलाई जन्म दिलाउन एउटी किशोरी, युवतीको लागि सहज छैन । त्यसैले उनीहरुको लागि एकमात्र विकल्प हो, गर्भपतन । गर्भपतन गराउने वैधानिक र अवैधानिक बाटोहरुमध्ये सम्बन्ध लुकाउन खोज्नेले अवैधानिक बाटो खोज्छन् । तर करणीमा परेका वा विवाह पछि अनिच्छित गर्भ रहेका युवती, महिलाहरुले भने वैधानिक तरिकाले गर्भपतन गराउँछन् । तर द ुवै किसिमको गर्भपतन महिलाको शरीरको लागि हानिकारक छ । त्यसमाथि असुरक्षित तरिकाले गरिने गर्भपतनले त ज्यानै जानेसम्मको खतरा उत्पन्न गर्छ । इटहरी अस्पतालकी सिनियर अनमि खुमा गुरागाईकाअनुसार असुरक्षित गर्भपतनबाट हुने महिलाको स्वास्थ्यमा तत्कालीन र दीर्घकालीन असर पुग्ने भएकाले यसलाई अस्थाई साधनको रूपमा लिन हुँदैन । यस्तो प्रक्रिया अपनाउँदा महिला तथा बालिका साथै किशोरीहरुमा तौल कम वा धेरै हुने, भित्री अंगहरुमा प्रतिकुल प्रभाव पर्ने, रगत बग्ने, पाठेघर सम्बन्धि दीर्घ रोगी हुने साथै पाठेघरको क्यान्सर हुन सक्ने संभावना रहेको अनमि गुरागाइ बताउँछिन् । इटहरी उपमहानगरपालिका स्वास्थ्य शाखाका शाखा प्रमुख रामचरण चौधरीकाअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार समुदाय तहमा भएमा मातृमृत्युमध्ये १३ प्रतिशत असुरक्षित गर्भपतका कारणले हुने गरेको छ । नेपालमा १९ प्रतिशत महिलामा अनिच्छित गर्भ रहने गरेको तथ्यांकले देखाएको छ । तर पछिल्लो समयमा भने सुरक्षित गर्भपतन गराउने महिलाको संख्यामा भारी वृद्धि भएको शाखा प्रमुख चौधरी बताउँछन् । सुरक्षित गर्भपतन सहज र सुरक्षित भयो भने मात्र असुरक्षित गर्भपतनको क्रम घट्ने सम्भावना हुन्छ । गर्भपतनका लागि नेपालको कानुन नेपालमा सन् २००२ मा गर्भपतनले कानुनी मान्यता पाएको हो । सन् २००२ भन्दा अघि, नेपालको गर्भपतन सम्बन्धी कानुन अनुसार गर्भको अन्त्य गराएमा सो गराउने महिला तथा उनको परिवारलाई मुद्दा लगाइन्थ्यो तथा जेल चलान गरिन्थ्यो । सन् २००४ मा शल्यक्रियाद्धारा गराइने पहिलो त्रैमासिकमा गर्भपतन सेवा देशभरि उपलब्ध गराइयो । अधिवक्ता रमेश पोखरेलका अनुसार हाल नेपालका ७७ वटै जिल्लाका सरकारी अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रहरुमा गर्भपतन सेवा उपलब्ध गराइएको भएतापनी ग्रामीण क्षेत्रमा भने अहिलेसम्म पनि सिमित स्वास्थ्य केन्द्रहरुमा मात्र यो सेवा उपलब्ध छ । गर्भवती भएकी महिलाको मन्जुरीमा १२ हप्तासम्मको गर्भपतन गर्न पाउने कानुनी मान्यता रहेको छ । बलात्कार वा हाडनाता करणिका कारण गर्भवति महिला र बच्चाको शारीरिक, मानसिक अवस्था बिग्रिनुका साथै बिकलाङ्ग बच्चा जन्मने अवस्थामा गर्भवती महिलाको स्वीकृत अनुसार २८ हप्ता सम्मको गर्भपतन गराउन सकिने प्रावधान रहेको अधिवक्ता पोखरेलले बताए । कानुनको प्रभावकारी कार्यान्वयनको लागि स्वास्थ्यकर्मीहरुलाई जनचेतना मुलक कार्यक्रमहरु गर्न र सो विषयमा पाठ्यक्रममा समावेश गर्न विज्ञहरुले सुझाव दिएका छन् । यस्तै सामाजिक हिंसा न्युनिकरण गर्न सकेमा पनि गर्भपतनको दर घट्ने अनुमान गरि
गरिएको छ । त्यसका साथै अस्थायी साधनको प्रयोगलाई पनि बढावा दिनुपर्ने जोड गुरागाईको छ ।
शारीरिक सम्पर्क गर्दा सुरुमै अस्थायी साधनको प्रयोगलाइ बढावा दिए गर्भ नरहने तथा पछि गर्भ पतन गराउनुपर्ने झन्झट मुक्त हुने मात्र नभइ जथाभावी औषधि सेवनबाट पाठेघरको क्यान्सर लगायतका समस्या महिलाको शरीरमा भित्रने भएकाले समयमै सजग रहन बिज्ञहरु सुझाउछ्न।