Spread the love
Gopal Kiraty को फोटो।

gopal kirati

रुकुमको भेरी नदीमा श्री नवराज बिश्वकर्मा र उनका साथीहरुको जसरी रगत बग्यो, वस्तुत: भारतको गङ्गा मैदानमा प्रारम्भ भएको हिन्दु जात अर्थात बर्णब्यवस्था सतप्रतिशत जिम्मेवार छ । ०७७ जेठ १० गते घटित उक्त घटना कथित माथिल्लो जातकी महिला र कथित तल्लो जातका नवराजवीच प्रेम बिवाह प्रकरणबाट उत्पन्न तथ्यमा आधारित रहेकोवारे कसैले खुराफात गर्ने ठाउँ छैन । ०७७ जेठ १७ गते नयाँपत्रीका दैनिकमा प्रकाशित श्री शिबहरि ज्ञवाली तथा ०७७ जेठ १८ गते कान्तिपुर दैनिकमा प्रकाशित साहित्यकार आहुतिको लेख नै काफी छन, जसले जातब्यवस्था कसरी थोपरियो एवं त्यसले कसरी मानवीयताको निरन्तर हत्या गर्दै आएको छ, वारे पर्याप्त प्रकाश पार्दछन। साथै, ०७७ जेठ १८ गते सोही कान्तिपुर दैनिकमा प्रकाशित “गाउँलेले कुटिरहे, प्रहरीले हेरिरहे” शिर्षक प्रतिवेदन मात्र पढ्ने हो भने पनि उक्त घटना जातीय श्रेष्ठताको दम्भ रक्षार्थ सामुहिक कर्तब्य ज्यान-अपराधमा बदलिएको स्वत: स्पष्ट हुन्छ ।

पार्टीको तर्फबाट त्यस घटनाको तथ्यगत छानबिन गरी पीडितलाई न्याय तथा दोषीलाई कार्वाही माग गर्दै ०७७ जेठ १२ गते नै विज्ञप्ति जारी गरिएको हो। तर, बुर्जुवा कम्युनिष्ट पार्टीका अभिजात नेताहरु, जातब्यवस्थाका हिमायती दुश्प्रचारकहरु र दलितजन बिरोधी उत्पीडनमा रमाउने बिष्ट जातका परपीडकहरुको आपराधिक रवैयाले अझ केही गर्नैपर्ने स्थिति उत्पन्न गर्यो। राणा जंगबहादुरको मुलुकी ऐनले मासिने मतवालीमा पतन गराउँदै, तर दलितजन बिरुद्व उक्साउने गरी कथित पानी चल्ने जाति करार गर्दै आएको सामुदायिक पृष्ठभूमिमा जन्मशिद्व अपराध स्वीकार गरेर मात्र मार्क्सवादी हुनुको नैतिक धरातल सुरक्षित रहने तथ्य प्रष्ट छ । अत: पूर्व जातीय अवस्था मुक्त चेतनाले मुख्यत: माओवादी कम्तुनिस्ट कार्यकर्ता हुनुको हैसियतमा सामाजिक क्रान्तिको दायित्वपथमा दृढप्रतिबद्व रहने संकल्पसहित यो आलेख तयार गरिएको छ ।

१.सत्तासीन बुर्जुवा कम्युनिष्ट पार्टीका ठुला घरे अभिजातहरु रुकुम लगायतका दलितजन बिरोधी घटनालाई बिगतमा झैं दबाउँन सम्पूर्ण शक्तिसाथ लागि परेका देखिन्छन । जातवादी शासक तथा प्रशासकहरुको त्यस्तो आपराधिक हर्कतले नेपाली समाजको गुणात्मक रुपान्तरणका निमित्त नवराज बिश्वकर्माहरुको बलिदान अन्तिम नभएको, बरु प्रारम्भसम्म भएको खतर्णाक सन्देश दिन्छ । त्यसले ईमान्दार माओवादी कम्युनिष्टहरु र उत्पीडित जातजातिका प्रगतिशील योद्वाहरुलाई बलिदानको अरु कोटा चुक्ता गर्न सर्वत्र तयारीमा जुट्नै पर्ने निर्देश गरेको छ । जसले, जनयुद्व र जनआन्दोलनका थाँती मुद्दाहरुलाई छिनोफानो गरी समाजवादी गणतन्त्र सुनिध्चित गरियोस, जहाँ नवराज बिश्वकर्मा र सुश्मा मल्लहरु प्रेम-बिवाह गर्न स्वतन्त बनुन् ।

उनीहरुवीच प्रेम सम्बन्धलाई जातभातका आधारमा नाजायज ठहर्याउँने अपराध कसैले गर्दछ भने त्यसलाई समाजवादी सत्ताले सामाजिक अपराध ठहर गरी ती अपराधी बिरुद्व आवश्यक कार्वाही गरोस् । त्यस निमित्त बिगत जनयुद्वमा अभ्यास गरिएको विचार तथा संगठन शक्तिको पुनर्स्थापना मात्र जरुरी हुन्छ ।

२. बिगत जनयुद्वको नेतृत्व मण्डली, जसरी तत्कालीन माले समुहको नेतृत्व निम्न-पुजीवादी थियो, ठिक त्यस्तै रहेको तथ्य ब्यवहारले पुष्टि गरेको छ । निम्न-पुजीवादी वर्गीय राजनीतिक चरित्र त्यो हो, जो सामन्ती र पुजीवादीद्वारा उत्पीडित हुन्छ र अत्यन्त ब्यक्तिवादी पनि हुन्छ । पुजीवादी उत्पीडन बिरुद्द आफ्नो ब्यक्तिवादी महत्वाकाङ्क्षा समेतका बलमा त्यो एक चरण क्रान्तिकारी देखा पर्छ । निम्न-पुजीवादी वर्ग चरित्र त्यो हो, जो पुजीवादी या सर्वहारामध्ये कुन वर्गमा रुपान्तरित हुने भन्ने दोबाटोमा उभिएको हुन्छ। निम्न-पुजीवादी चरित्र सकारात्मक हुँदा सर्वहारावर्गमा र नकारात्मक हुँदा पुजीपतिवर्गको कित्तामा हाम्फाल्ने हुन्छ । आफ्नो निम्न-पुजीवादी चरित्रमा टिकीरहन सक्दैन र नै त्यो अत्यन्त अस्थिर हुन्छ । यध्यपि, निम्न-पुजीवादीहरु ब्यक्तिगत स्वार्थ साधनमा पुजीवादीहरुको अत्याचार बिरुद्व एक चरण क्रान्तिकारी हुन्छन र नै कम्युनिष्ट पार्टीमा आफ्नो स्थान बनाउँन पुग्छन । यसरी निम्न-पुजीवादी चरित्रले क्रमश: पार्टी हत्याउँन सक्छन ।

उपरोक्त राजनीतिक चरित्र बिश्लेषणले प्रचण्ड तथा जनार्दन शर्माहरु निम्न-पुजीवादी थिए, जसले एक चरण क्रान्तिकारी भूमिका खेले र त्यस उप्रान्त पुजीपतिवर्गमा हाम्फाले, भन्ने तथ्य प्रमाणित गर्छ । अत: गरीब प्रचण्डहरु जनयुद्वको नेता बनेपछि धनी मात्र होइन, अभिजातवर्गमा पतन हुन पुगे। त्यसैले तिनले क्रान्तिकारी विचार, दृष्टिकोण, जनसँस्कृति, मूल्य मान्यता एकाएक त्याग्न पुगे । साथसाथै, निम्न-पुजीवादी चरित्र ब्यक्तिवादी महत्वाकाङ्क्षी हुने भएकोले दक्षिण एसियाको बर्णग्रस्त नेपाली राजनीतिमा त्यो स्वत:जातवादीमा परिणत हुन्छ र भयो ।

सशस्त्र जनयुद्वको बेला रगतको खाचो पर्थ्यो । रगतको आपूर्ति बढाउन तिनले दलित, महिला, जनजाति, मधेसी, मजदुर-किसान तथा सुकुम्वासीको नारा खुब उराले । गुणात्मक परिवर्तनको अपेक्षामा ती समुदायबाट व्यापक कार्यकर्ता संगठित हुन आए । तर, शान्ति सम्झौतायता आर्थिक र राजनीतिक धनधान्यता सुनिश्चित भएबाट तिनलाई दलितको रगत नचाहिने भयो र स्वभाविक रुपमा ती जातब्यवस्थाका पहरेदार बन्न पुगे । हामीलाई थाहा छ, स्थानीय ठालु परम्पराले भेरीकै शक्तिबहादुर बस्नेतलाई देवाधिदेव समान पुज्दछन । त्यस्तो पुजाईमा बस्नेत र शर्माजीहरु अतिशय रमाउँछन । किनकि, ती हिजो निम्न-पुजीवादी थिए, आज पुजीवादी भए । निम्न-पुजीवादी प्रचण्डहरु सर्वहारावर्गको सट्टा बुर्जुवा (पुजीपति) वर्गमा पतन भईसक्नुको परिणाम हो, नवराज बिश्वकर्माको सामुहिक हत्याकाण्डलाई जायज ठहर्याउन खोज्ने शर्माजीको संसदीय रोदन !

३. वैज्ञानिक समाजवादका महान प्रयोक्ता लेनिन अनुसार “उत्पीडक जाति र उत्पीडित जातिका मजदुरवीच यथास्थितिमा एकता सम्भव हुँदैन ।” त्यसैले कम्युनिष्ट पार्टीको सिद्वान्त, नीति र कार्यक्रमका अतिरिक्त ब्यवहारद्वारा ती उत्पीडित जातिका मजदुर अर्थात क्रान्तिकारीहरुप्रति विशेष क्षेतिपूर्ति दिईनुपर्छ । वस्तुत: यस्तो क्षेतिपूर्तिले मात्र आपसी विस्वास र एकता बढाउँछ, जसले मात्र क्रान्ति गर्ने र प्रतिक्रान्ति रोक्ने मजबुत किल्ला खडा गर्दछ । यो नेकपा (माओवादी केन्द्र) को एक अभिन्न नीति हो, भनेर हामीले बेलैमा आत्मसात गर्न सक्नु पर्छ । अन्यथा पार्टी पुनर्गठनको औचित्य प्रमाणिकरणको संकटले पुनर्गठनकर्ताहरुलाई चिहानतर्फ घिसार्ने नियती प्रष्ट छ ।

गोर्खाली राज्य विस्तार अभियानदेखि राणाकालभरि वर्गीय र जातीय हक खोज्ने जो कसै बिरुद्वको अभियोग हुन्थ्यो- कुल्याहा। राणाशासन अन्त्य लगत्तै भनियो-जंगली स्वाँठे। निर्दलीय पञ्चायतभरि राज्यले भन्ने- अराष्ट्रीय तत्व तथा माले हुँदै एमालेहरुले भन्ने- साम्प्रदायिक बिखण्डनकारी । महान जनयुद्व र जनआन्दोलन उप्रान्त शब्द फेरियो र ठाडो आरोपित गरिन्छ-जातीय अथवा जातिवादी ! नवराज बिश्वकर्माको भेरी नदीमा बगेको रगत र उल्टो उनैलाई दोषारोपण गर्ने हर्कत एवं त्यस हर्कत बिरुद्वका प्रगतिशील जनआवाजहरु हेरौं, वास्तवमा के रहेछ- जातिवाद अनि को रहेछ जातिवादी ! अत: भन्नैपर्छ, सर्वहारावर्गका अन्तर्राष्ट्रीय गुरु मार्क्स, लेनिन, माओको विचारलाई पथप्रदर्शक मान्ने नेकपा (माओवादी केन्द्र) मा जातीय मुक्तिको सवाल सुन्न नसक्ने मानिस र जातीय सवाल मात्र मनपराउने मानिसको स्थान हुँदैन । किनकि, ती दुई अतिवाद बिरुद्वको कठोर संघर्षले मात्र पार्टीलाई प्रतिष्ठित गर्ने तथ्यप्रति नजरअन्दाज गर्नेहरु निम्न-पुजीवादी अवसरवादी नै हुन ।

पृथ्बीनारायण शाहको असली हिन्दुस्तान बनाउँने बर्णब्यवस्थाले नेपाली राजनीतिलाई जातब्यवस्थामा पतन गरायो । अझ जंगबहादुरको मुलुकी ऐनले त मतवाली, जसलाई आज जनजाति भनिन्छ, भित्र पनि “मासिने” र “नमासिने” भनेर दुई भाग लगायो । हो, यो पन्क्तिकार त्यही “मासिने मतवाली” मा पर्दथ्यो। परन्तु, खस-ब्राम्हणबाट जनजातिले चाहिने कुरा सिक्न पाएनन् या केही सिकेनन् । दलितजनलाई छुवाछुतको भेद्भाव गर्न भने यिनले खुब दह्रोगरी सिके । परिणाम, उत्पीडित समुदायवीच युगीन फुट थोपरियो र वर्गसंघर्षमा अनावश्यक ऊर्जा खर्चनु परिरहे छ । जातब्यवस्था परम्परामा यसरी जनजातिहरु पनि दलित भन्दा कथित उपल्लो जातमा लादिएका तत्व हुन । यसर्थ जनजाति समुदायका प्रगतिशीलरहरुले सिद्वान्त र ब्यवहार दुवै क्षेत्रमा निर्मम ढंगले ऐतिहासिक आत्मालोचना गर्नुपर्छ । तब उनीहरु प्रगतिशील ठहर्ने छन र देशको नेतृत्वलायक देखिने छन ।

दलित समुदायका प्रगतिशील साथीहरुले पनि के बुझी दिनुपर्छ भने पहाडिया दलितहरु उत्पतिमा खसआर्य हुन, खस-ब्राम्हण र दलितको भाषा, सँस्कृति, धर्म एउटै हो । दलितमाथि कथित उच्चजातीय हैकम थोपर्ने कार्यसूचीमा खस-ब्राम्हण र आदिवासी जनजातिवीच संयुक्तमोर्चा छ , भने आदिवासी जनजातिको भाषा-सँस्कृतिमाथि निषेधको कार्यसूचीमा खस-ब्राम्हण र दलितको संयुक्तमोर्चा थोपरिएको छ । विभिन्न संयुक्तमोर्चा गुथ्थिएको सामाजिक जटिलता नै नेपाली समाजको वर्ग अन्तर्बिरोधको विशिष्ट जटिलता हो । अत: भन्ने गरिन्छ, नेपाली राजनीति,अर्थतन्त्र तथा प्रशासनमा जनजाति भनेको पानी चल्ने दलित हो ।

परन्तु, यसो भनेर जनजाति समुदायबाट आएको मार्क्सवादी उम्कन मिल्दैन । उसले इतिहासमा गरेको अपराध स्वीकर गर्नैपर्छ, उसले इतिहासको क्षेतिपूर्तिको उद्घोष गर्नैपर्छ र इतिहासको कठघरामा उभिएर उसले सामुदायिक आत्मालोचनासहित न्यायपूर्ण आन्दोलनको झण्डा उठाउँनै पर्छ । प्रत्यक जातजातिबाट आएका मार्क्सवादीहरु, जुन बिगतमा कथित उपल्लो श्रीणीका थिए, उनीहरुले उपरोक्त तीन काम गर्नैपर्छ । बल्ल उनीहरु प्रगतिशील ठहर्ने छन र मार्क्सवादी बन्ने दिशामा उक्लने हुन्छन ।

पहाडतिर जनजाति लगायत कथित उपल्लो जातजातिका मानिसलाई खसभाषामा “बिष्ट” भन्ने गर्दछन । अत: हामी बिष्ट जात करार भईआएका मानिसहरु इतिहासका अपराधी हौं । जान अन्जानमा हामीले दलितजन बिरुद्व इतिहासमा असंख्य हिंसा तथा अपराधहरु गरेका छौं । इतिहासको त्यो जघन्य अपराधबाट मुक्त हुन हामी दलितजनको न्यायपूर्ण आन्दोलनमा एकसाथ रहने जिम्मेवार प्रतिबद्वता गर्दछौं । दलित र महिलाजनको न्याय तथा मुक्तिमा मात्र आफ्नो पनि मुक्ति एवं नेपाली क्रान्तिको उज्यालो भविश्य देख्दछौं । यही कुराले हामी माओवादी कम्युनिष्टहरुको सम्पूर्ण कामको पथप्रदर्शन गर्नेछ र बुर्जुवा कम्युनिष्टहरु तथा हामीमा भिन्नताको आधारभूत रेखा स्पष्ट गर्नेछ ।