Spread the love

काठमाडौं । नवगठित जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादबले मुलुकमा कायम गरिएको सात प्रदेश अवैज्ञानिक भएको भन्दै राज्य पुनर्संरचना आयोगको प्रतिवेदन अनुसार बढाएर ११ पुर्‍याउनु पर्ने बताउनुभएको छ ।

जनता टेलिभिजनको कार्यक्रम जन संवादमा पूर्व उपप्रधानमन्त्रीसमेत भइसक्नुभएका नेता यादवले पहिचानलाई पुरै बेवास्ता गरेर बनाइएको सात प्रदेशमा मुलुक नअडिने दाबी गर्नुभयो । आफ्नो पार्टीले संविधान संशोधनका लागि संसदमा दर्ता गरेको प्रस्ताव बमोजिम संविधान संशोधन गर्दा प्रदेशको संख्या बढाउनुपर्ने उहाँको माग छ ।

नेता यादवले दुई तिहाइ संख्याका आधारमा संविधान संशोधन गर्नुभन्दा सर्वसम्मत ढङ्गले संविधान संशोधन हुनुपर्ने अडानमा आफू रहेको उल्लेख गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर मुलुकको नयाँ नक्सा प्रकाशित गरी सो बमोजिम संविधान संशोधन गर्न सरकारले संसदमा पेश गरेको विधेयकको पक्षमा मतदान गर्ने संकेत गर्नुभयो । ‘तर हाम्रा माग पनि सरकारले सुनोस् भन्ने हाम्रो आग्रह छ’, उहाँले भन्नुभयो, ‘किनभने हाम्रो माग संवोधन गर्ने भनेर प्रधानमन्त्री केपी शर्मा ओली तथा यसअघिका सरकारले पनि सहमति गरेका छन् ।’

आफ्नो पार्टी निर्वाचन आयोगमा दर्ता गर्दा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आफैले नाम काटेर चौथो नम्बरमा राखेको बताउँदै नेता यादवले अब भट्टराई एकिकृत पार्टीको संघीय परिषदको अध्यक्ष बन्नुहुने जानकारी दिनुभयो ।