Spread the love
PM Oli in cabinet meeting.width 800

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठन गर्ने तयारी गरेका छन् । बिहीबार पाँच बजे राष्ट्रियसभाबाट बजेट पास भएलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुर्नगठन गर्ने तयारी गरेका हुन् । सत्तारुढ दल नेकपाभित्र अहिले एमसीसीलाई लिएर विवाद छ ।

प्रधानमन्त्री ओली, सचिवालय सदस्य ईश्वर पोखरेल र पार्टी महासचिव विष्णु पौडेल एमसीसीलाई संसदबाट अनुमोदन गर्ने पक्षमा छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालय सदस्यहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ एमसीसीकोविरुद्धमा छन् । गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा एमसीसीको विरुद्धमा भएपनि उनले यसबारेमा आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् ।

पार्टीभित्र चर्को विरोध भएपछि प्रधानमन्त्री ओली पनि एमसीसीका लागि मरिहत्ते गर्ने पक्षमा नरहेको स्रोत बताउँछ । उनले एमसीसी पारित गर्न हरसम्भव कोशिस गर्ने नभएपनि त्यसैका लागी मरिहत्ते नगर्ने रणनीति बनाएका छन् ।

प्रधानमन्त्री ओलीको विकल्प खोज्नेबारे नेकपाका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाललबीच छलफल चलिरहेका बेला प्रधानमन्त्री ओली भने मन्त्रिपरिषद पुर्नगठन गर्ने तयारीमा छन् । उनी सचिवालयका सदस्यहरु गृहमन्त्री रामबहादुर थापा र रक्षामन्त्री ईश्वर पोखरेलबाहेक पुराना मन्त्रीहरु परिवर्तन गर्ने तयारीमा छन् ।

प्रधानमन्त्री ओली पूर्वमाओवादीबाट मन्त्रिमण्डलमा प्रतिनिधित्व गर्ने उर्जामन्त्री वर्षमान पुन, खानेपानीमन्त्री विना मगर र शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई परिवर्तन गर्ने पक्षमा छन् । पुराना मन्त्रीमध्येबाट वनमन्त्री शक्ति वस्नेत र गृहमन्त्री थापालाई निरन्तरता दिनेमा प्रधानमन्त्री ओली छन् ।

उद्योगमन्त्री लेखराज भट्ट र श्रममन्त्री रामेश्वर राय यादव मन्त्री भएको धेरै नभएकाले उनीहरुलाई हटाइहाल्ने पक्षमा प्रधानमन्त्री ओली नभएको स्रोतको दावी छ । उद्योगमन्त्री भट्ट त पछिल्लो समय प्रधानमन्त्री ओलीको पक्षमा खुलेर लागेकाले पनि उनी मन्त्रीका रुपमा रहिरहने सम्भावना छ । तर, अर्का अध्यक्ष प्रचण्ड उद्योगमन्त्री भट्ट र गृहमन्त्री थापाको विकल्प खोज्नेमा छन् ।

प्रधानमन्त्री ओलीले नेकपाका प्रवक्तासमेत रहेका सचिवालय सदस्य श्रेष्ठलाई त शिक्षामन्त्रीका रुपमा सपथग्रहण गर्न आग्रह गरिसकेका छन् । तर, श्रेष्ठले परराष्ट्रमन्त्रालयमै रुची देखाएका छन् । प्रधानमन्त्री श्रेष्ठलाई मात्र होईन उपाध्यक्ष वामदेव गौतमलाई पनि उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्न आग्रह गरेका छन् ।

श्रेष्ठ र गौतम मन्त्रिपरिषद्मा प्रवेशगरेसंगै सचिवालयमा बहुमत बन्ने प्रधानमन्त्रीको हिसाब छ । यता अर्थमन्त्रीकै लागि पार्टी महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे समेत दौडमा छन् । पुर्व एमालेबाट अर्थमन्त्री युवराज खतिवडासहित, भुमिसुधार मन्त्री पद्मा अर्याल, खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योगराज्यमन्त्री मोतीलाल दुगडलाई हटाउने पक्षमा प्रधानमन्त्री ओली छन् । त्यसका साथै रिक्त रहेको सञ्चार र शहरीमन्त्रालयमा समेत नयाँ मन्त्री नियुक्त गर्ने तयारी उनले गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतमले आफू प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको कित्तामा नरहेको स्पष्ट पारेका छन् ।

उपाध्यक्ष गौतमले आफ्नो सचिवालयमार्फत प्रधानमन्त्री ओलीको कार्यशैलीमाथि अनगिन्ती असहमति रहेको बताएका छन् । ‘केपी ओलीका कार्यशैलीमाथि पार्टी नेतृत्वभित्रै अनगिन्ती असहमति छन् । समयक्रममा ती बाहिर आउनेछन् । वामदेव यही कित्तामा अडिग हुनुहुन्छ । एमसिसीसहितका विभिन्न निर्णय प्रक्रियामा उहाँ प्रधानमन्त्रीको साथमा हुनुहुन्न,’ सचिवालयका तर्फबाट गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘सरकारमा पार्टीका संस्थागत निर्णय कार्यान्वयन नहुने, सरकार र पार्टी अलग किसिमले चल्नेबारे पार्टी नेताहरूको छिट्टै सामूहिक प्रतिक्रिया आउँदै छ । वामदेवलाई पनि त्यहीँ भेटिँदै छ ।’

गौतम अझै केही समय सार्वजनिक प्रतिक्रियामा नआउने पनि प्रेस नोटमार्फत प्रस्ट्याइएको छ । सरकारमा जाने र प्रधानमन्त्रीका कदमहरुका पक्षधरका रुपमा आफूलाई चित्रित गर्ने क्रम बन्द गर्न समेत गौतमले आग्रह गरेका छन् ।

पछिल्लो समय बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री र उपाध्यक्ष गौतमबीच मनमुटाव भएको बताइएको छ । गौतमले आफूलाई राष्ट्रियसभामा लैजाने र प्रधानमन्त्री बनाउने भनेर ओलीले झुटो आश्वासन देखाएकोमा आपत्ति जनाउँदै आएका थिए ।