Spread the love


इटहरी

बलात्कारबाट बसेको गर्भ गर्भपतन गराउन छोरी लिएर अस्पताल गएका बेला सुनसरीको बराहक्षेत्र नगरपालिका– ९ का ५० वर्षका पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । नाम सार्बजानिक नगरिएका उनीमाथि आफ्नै १३ वर्षकी छोरी बलात्कारको आरोप पुष्टि भएको प्रहरीले बताएको छ ।

पुरुषले गाउँमै गर्भपतनको प्रयास गरेको तर छोरीको अवस्था जटिल बनेपछि शुक्रबार विराटनगरको नोबेल मेडिकल कलेज ल्याएको प्रहरीले जनाएको छ । अस्पतालमा उमेर नपुगेकी किशोरीलाई गर्भपतनका लागि ल्याएपछि स्वास्थ्यकर्मीले सोधिखोजी गरे ।

सोधीखोजीका क्रममा बुबाले करणी गर्दा गर्भ रहेको खुलेपछि आफन्तको सहयोगमा अस्पतालले प्रहरीलाई खबर गरेको हो ।पक्राउपछि अनुसन्धानको क्रममा रहेका पुरुषले बलात्कार गरेको स्वीकार गरेका छन् । घटनाबारे थप अुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट पुगेको प्रहरीले अस्पतालबाट पीडित किशोरीकी बुबालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मा लगाएको थियो ।