Spread the love
alt

रुकुमपश्चिम / अन्तरजातीय प्रेमका कारण मृत्युलाई लिएर पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन्।

अन्तरजातीय सम्बन्धलाई लिएर जेठ १० गते भएको घटनाका पीडित परिवारले किटानी जाहेरी गरेका हुन् । पीडितले दिएको जोहेरीका आधारमा १२ जनालाई पक्राउ गरिएको र बाँकी ८ जनाको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए । 

वडाध्यक्ष डम्मरबहादुर मल्ल, डिल्ली मल्ल, वीरबहादुर मल्ल, प्रकाशी मल्ल, सन्तोष मल्ल, मोहन पुन मगर, रमेशबहादुर मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ललाई पक्राउ गरिएको छ । त्यस्तै तुलबहादुर मल्ल, प्रेमबहादुर ठकुरी र १७ वर्षीया एक किशोरीलाई पक्राउ गरिएको छ । पक्राउ परेका सबैलाई १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक केसीको भनाइ छ ।

जेठ १० गते शनिबार साँझ सोती पुगेका १८ युवाको समूहलाई गाउँलेले लखेट्दा चार जनाको मृत्यु भएको थियो भने दुई जना अझै बेपत्ता छन् । जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विक, गणेश बुढा मगर र चौरजहारी नगरपालिका–१ का टीकाराम नेपालीको शव भेरी नदीमा भेटिएको थियो । घटनमा भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, गोविन्द शाही र वडा नं ४ का सञ्जु विक बेपत्ता छन् ।

बेपत्ता  दुई जनाको खोजीका लागि गोताखोर टोली परिचालन गरिएको छ । खोजीमा सशस्त्र प्रहरीका तीन गोताखोर र सहयोगीसहित सात जनाको टोलीले भेरी नदीमा खोजी गरिरहेको प्रहरीले बताएको छ । पीडित पक्षले भने जाजरकोट प्रहरीमा उजुरी दिएका हुन् ।