Spread the love

हुग्दीखोला(धादिङ) — पृथ्वीराजमार्गको हुग्दीखोला पुलको नजिक एकजना युवा विश्वदीप डल्लाकोटी मोबाईल र फोटोग्राफी पसल सञ्चालन गरेर बसेका छन् । उनका मुख्य ग्राहकहरु हुग्दीखोलाका मुहातिरका चेपांग वस्तीका बासिन्दाहरु हुन् ।

उनी नागरिकता, पासपोर्ट र अन्य सिफारिस प्रयोजनका लागि फोटो पनि खिच्छन् । हिजोआज उनको नयाँ काम थपिएको छ । स्टुडियोको क्यामेरा बोकेर पुलमा दैनिक जसको हुने दुर्घटनाको तस्बिर खिच्ने । दुर्घटना र जामका तस्बिरहरु उनी सामाजिक सञ्जालमा हाल्छन् र दुर्घटनाबारे सबैलाई अपडेट गराइदिन्छन् ।

दुर्घटनाका तस्बिर र भिडियो जिल्ला सदरमुकामका पत्रकारहरुलाई विश्वदीपले पठाइदिने गरेका छन् । दुर्घटनाको तस्बिर खिचेर पठाउने काम उनको दिनचर्या हुन थालेको छ । पृथ्वीराजमार्गको मुग्लिन–नौबिसे सडक खण्डमा धादिङको जोगीमारा पर्छ । हुग्दीखोला पुल राजधानीबाट मुग्लिनतर्फ लाग्दा मलेखु बजारबाट बेनीघाट, कृष्णभीर, मझिमटार हुँदै २० किलोमिटरको दुरीमा पर्छ । चीन सरकारले निर्माण गरेको यो सडक २०३४ ताका नेपाल सरकारलाई हस्तातरण गरेको थियो ।

४० वर्ष अगाडिका सवारी साधनहरुको चाप अनुसार निर्माण गरिएको यो सडकमा दैनिक ९ हजार भन्दा बढी साना ठूला सवारी साधनहरु गुड्ने गरेका छन् । ‘यो पूल निर्माण भए देखि नै हामी पसल गरी बसेका छौँ । हरेक वर्ष कम्तिमा ६ वटा सवारी साधनहरु खस्ने गरेका छन् ।’ पुलको मुखैमा किराना पसल सञ्चालन गरिरहेका कृष्णप्रसाद डल्लाकोटीले भने । उनले भने–‘मध्यरातमा पनि दुर्घटनाको उद्धारमा खटिएका छौँ ।’हाल सम्म ६ वटा यात्रुवाहक बस र सयभन्दा बढी ट्रक यो पुलबाट खसेको छ । दुर्घटनाका कारण धेरैले ज्यान गुमाएका छन् । बस खस्दा ७ जनासम्मको मृत्यु भएको यो पुलबाट भएको दुर्घटनामा परी घाइते भएकाहरुको संख्याको लेखाजोखा छैन ।