Spread the love

विगत दुई दशक लामो यात्राको निरन्तरताको १३औं संस्करण नाडा अटो शो २०१८ यही भाद्र २६ गते देखि ३१ गते सम्म काठमाण्डौको भृकुटी मण्डप प्रदर्शनी कक्षमा भव्याताका साथ आयोजना हुँदै छ । नाडा अटोमोबाइल्स एशोसिएसन् अफ नेपाल एवं ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा हुने नाडा अटो शो २०१८ को शिर्ष प्रायोजक (Title Sponsor) यस पटक फेरी सर्भो वल्र्ड क्लास लुब्रिकेन्ट्स रहेको छ । सवारी साधन तथा अटो कम्पोनेन्ट्स सम्बन्धी सम्पूर्ण जानकारी एकै थलोमा उपलब्ध गराई, नेपाली अटोमोबाइल क्षेत्रमा भइरहेको आधुनिक एवं प्राविधिक विकासको प्रचार—प्रसार,प्रवद्र्धन गर्नु नाडा अटो शोको मुख्य उद्देश्य रहेको छ । आम सर्वसाधारणलाई सवारी साधनको महत्व र उपयोगिताबारे व्यापक जानकारी गराउने साथै सुरक्षित ड्राइविङ्ग, ट्राफिक नियमको पालना एवं सडक सुरक्षा सम्बन्धी व्यापक जन चेतनाको अभिवृद्धि गर्ने नाडा अटो शोको निरन्तर प्रयास रहने छ ।

४–पाङग्रे, २–पाङग्रे र अटो कम्पोनेन्ट्सको अत्याधिक मागलाई ध्यानमा राखी, यस वर्ष तीनवटा ह्याङ्गरहरू (Dome) राखिएका छन् र ठाउँको अभावले गर्दा हेभी कमर्शियल गाडीहरू यस वर्ष प्रदर्शनका लागि राखिएका छैनन् । ६ दिन सम्म चल्ने नाडा अटो शो २०७५ मा १९ वटा ब्राण्डका ४–पाङग्रे तथा २० वटा ब्राण्डका   २–पाङग्रे सवारी साधनहरू रहने छन् । यसै गरी पैठारीकर्ता, डिलर, उत्पादक तथा विक्रेता गरी यस वर्ष ७१ कम्पनीहरूको सहभागिता रहेको छ भने साना ठूला गरि १३४ वटा ब्लक तथा स्टलहरू रहने छन् । प्रदर्शनीमा प्रख्यात ब्राण्डका सवारी साधनका साथै नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एशोसेरिजहरू लगायत नेपालमै उत्पादित् सामग्रीहरू समेत रहने छन् ।

सर्भोद्वारा प्रायोजित नाडा अटो शो २०१८मा पाल्नुहुने अवलोकनकर्ताहरूको सुविधालाई ध्यानमा राखी प्रदर्शनी क्षेत्रमा २–पाङग्रे, ४–पाङग्रे तथा अटो कम्पोनेन्टहरू छुट्टा–छुट्टै ठाँउमा प्रदर्शनीका लागि राखिने छन् । साथै सहभागी व्यवसायीहरूले आफ्ना विभिन्न ब्राण्डका सवारी साधन, पार्टपूर्जा तथा अन्य सेवाहरू ग्राहक समक्ष प्रत्यक्ष पुरयाउने तथा प्रत्याशित उपभोक्ताहरूका कौतुहलतालाई सम्बोधन गर्ने प्रयास गर्ने छन् । प्रदर्शनीमा जलपानका लागि व्यवस्थित क्यफेटेरिया, मिडिया कक्ष, ट्राफिक प्रहरी कक्ष एवं ठाउँ—ठाउँमा सहयोग डेस्कको व्यवस्था गरिएको छ । नाडा अटो शो २०१८ एउटा किनमेलको थलो मात्र नभई सुचनाको आदान—प्रदान, बजार विश्लेषण तथा समग्र नेपाली अटोमोवाइल व्यवसायको समस्टिगत विकासलाई प्रस्तुत गर्ने विश्वस्निय मंच समेत बन्ने आयोजकहरूको विश्वास रहेको छ ।यस वर्ष प्रवेश टिकटमा प्रत्येक दिन गोला प्रथा द्वारा भाग्यशाली विजेताले Coolpad Mega 2.5D प्राप्त गर्न सक्ने छन् जसलाई जय माँ इन्टरकन्टिनेन्टल प्रा. लि.ले प्रायोजित गरेको छ । गत वर्षहरूको उत्साहजनक सहभागितालाई दृष्टिगत गरी यस संस्करणको ६ दिने मेला अवधिमा लगभग ६०००० आगन्तुकहरूले प्रत्यक्ष अवलोकन गर्ने विश्वासका साथ सोही अनुरुप तैयारी गरिएको छ ।