Spread the love

बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन काठमाण्डौमा गर्न औपचारिक सहमति भएको छ । आगामी भाद्र १४ को शिखर सम्मेलन सबै सदस्य राष्ट्रबाट औपचारिक सहमति प्राप्त भए सँग सरकारले यसको तिव्र तयारी अगाडि बढाइएको छ ।

परराष्ट्र मन्त्रालयले शिखर सम्मेलन अघि काठमाण्डौमा भदौ १२ गते वरिष्ठ अधिकारस्तरिय र १३ गते मन्त्रिस्तरिय बैठक गर्ने तयारी गरेको छ । सम्मेलनको तयारीका लागि सरकारले प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय मूल समिति गठन गरेको छ । त्यस्तै परराष्ट्रमन्त्रीको संयोजकत्वमा सम्मेलन तयारी तथा समन्वय, अर्थमन्त्रीको संयोजकत्वमा अर्थ र गृहमन्त्रीको संयोजकत्वमा सुरक्षा, पारवहन तथा यातायात समिति गठन गरी आवश्यक कार्य अघि बढाएको छ ।

यसैगरी सूचना तथा सञ्चार प्रविधि मन्त्रीको संयोजकत्वमा सञ्चार व्यवस्थापन तथा प्रचारप्रसार र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको संयोजकत्वमा भौतिक पूर्वाधार व्यवस्था तथा नगर सजावट समिति गठन गरिएको मन्त्रालयले जनाएको छ । तयारी समितिहरुको छुट्टाछुट्टै बैठक बसी आ–आफ्नो सम्मेलनको तयारीको लागि सारभूत विषय, समारोह, शिष्टाचार तथा साधन व्यवस्था, हवाई उड्डयन तथा संस्कृति, स्वास्थ्य, आयोजक र सुरक्षा तथा परिवहन व्यवस्थापन उपसमिति समेत गठन गरिएका छन् ।

झण्डै २० वर्ष अघि स्थापना भएको बिम्स्टेकको सहयोगका १४ वटा क्षेत्र निर्धारण गरेर सदस्यराष्ट्रको चौतर्फी विकासमा योगदान पु¥याउदै आएको छ । बिम्स्टेक सदस्यराष्ट्रहरुबीच सहयोग र साझेदारी प्रवद्र्धन गरी आर्थिक विकास र समृद्धि हासिल गर्ने उद्देश्यले सन १९९७ मा यसको स्थापना भएको हो ।

नेपाल, भारत, बंगलादेश, म्यानमार, थाइल्याण्ड, भूटान र श्रीलङ्का यसका सदस्य राष्ट्र हुन् । नेपाल सन् २००४ मा यसको सदस्य बनेको हो । यसको सचिवालय सन २०१४ मा बंगलादेशको ढाकामा स्थापना गरिएको हो ।

बिम्स्टेकका हालसम्म परराष्ट्र मन्त्रिस्तरीय १५ औं बैठक सम्पन्न भइसकेका छन् । १५ औं बैंठक ११ अगस्ट २०१७ मा काठमाण्डौंमा सम्पन्न भएको थियो ।

त्यस्तै वरिष्ठ अधिकारीस्तरीय १८ औं बैठक पनि सम्पन्न भइसकेका छन् । १७ औं र १८ औं बैठक क्रमशः फेवु्रअरी र अगस्ट २०१७ मा काठमाण्डौंमा सम्पन्न भएका थिए । परराष्ट्र मन्त्रालयले बिम्स्टेकका शिखर सम्मेलनमा सहभागिताका लागि सबै सदस्यराष्ट्रका राष्ट्र प्रमुख÷सरकार प्रमुखलाई निमन्त्रणा पठाइसकेको छ ।

बिम्स्टेकको यस अघि पहिलो शिखर सम्मेलन सन् २००४ मा थाइल्याण्डमा, दोश्रो सन् २००८ मा भारत र तेश्रो सन् २०१४ मा म्यान्मारमा सम्पन्न भईसकेको छ ।