Spread the love

इटहरी
साउन ८ गते बिहान जिल्ला सुनसरी ईटहरी उमनपा वडा नं. ८ फुलबारी टोलको प्लटिङमा १ जना पुरुष मानिसलाई अन्य ३ जना पुरुषहरुले आँखामा पट्टी बाँधी ल्याई कुटपिट समेत गर्दै गरेको भन्ने सुचनाका आधारमा ईप्रका ईटहरीवाट टोली परिचालित प्रहरी टोलीले उक्त स्थानमा पुगेर ईटहरी उमनपा वडा नं.७ बस्ने बर्ष २५ को संगित थापा, ऐ.ऐ. बस्ने बर्ष १९ को अनिष कार्की र ऐ. ८ बस्ने बर्ष २३ को सिद्धार्थ राई समेतलाई पक्राउ गरेको छ ।
ईटहरी ४ बस्ने बर्ष २२ को निर्मल श्रेष्ठलाई कुटपिटगर्दै गरेको भुईमा पट्टी जस्तो सुँगा रङको कपडा समेत रहेको अवस्थामा फेलापारेको प्रहरी कार्यालय सुनसरीले बताएको छ । उल्लेखित ३ जनाले निर्मल श्रेष्ठलाई साउन७ गते अन्दाजी १३.०० बजेको समयमा ईटहरी उमनपा – ९ भोजपुरे टोलबाट जवरजस्ती गरी नम्बर थाहा नभएको सि.टी. सफारीमा राखी आँखामा पट्टी समेत बाँधी बिभिन्न स्थानमा घुमाउदै रातपरेपछी निजहरु मध्ये संगित थापाको घरकोठामा लगि रातभर भाग्न उम्कन नदिई आँखामा पट्टी लगाई कोठा भित्र थुनी राखेका थिए । भोलीपल्ट सो ठाउँबाट निजहरु तीनै जनाले आँखामा पट्टी बाँधेकै अवस्थामा पैदल हिडाउंदै ईटहरी – ८ स्थितमा ल्याएर कुटपिट गरेका हुन भनी पिडितले बताएका छन । पैसाको कारोवारमा निर्मलले बदमासी गरेर लुच्याईं गरेको भन्दै पैसा असुल्न त्यस्तो गैरकानूनी काम गरेका थिए । निर्मल श्रेष्ठलाई सोही स्थानबाट उद्वार गरी अपहरण गरी बन्धक बनाउने संगित थापा, अनिस कार्की र सिद्धार्थ राईलाई पक्राउ गरी दाखिला गरेकोले निजहरु उपर निर्मलले अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा जाहेरी दिएकोले उक्त मुद्दामा निजहरुलाई प्रहरी हिरासतमा राख्नको लागी सम्मानित सुनसरी जिल्ला अदालतवाट दिन ७ को म्याद थप अनुमती लिई निजहरुलाई हिरासतमा राखी थप अनुसन्धान गर्ने कार्य भई रहेको भनि जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ ।