इटहरीको स्वास्थ्य संस्थाहरुमा जनसेवाको प्रभाव
इटहरी
पीबी दियाली
खुटटामा बहुलाह कुकुरले टोकेर रेबिजको सुइ लाउन खच्याङ खच्याङ गर्दै आमाको साथमा इटहरी अस्पताल आएकी इटहरी २ भुल्के चौककी बालिका सरस्वती कार्कीलाई भ्याक्सिन सकियो भनेपछि बिराटनर जान बाध्य भइन ।
सरकारी साधनस्रोत प्राप्त इटहरी अस्पतालको आँगनको ठूलो बडा पत्रमा निशुल्क दिइने सेवाहरुको बिबरण सहित रेबिजको उपचार निशुल्क गरिइने कुरा लेखेको छ । निशुल्क औषधी उपलब्ध गराउन सक्ने भनेतापनि सरकारको घोषणा कार्यान्वयनमा सहजता छैन ।
सरकारले निशुल्क दिन्छ भन्ने थाहा पाएपछि त्यहींकै डाक्टरको प्रेपकिप्सन अनुसार माइलोड नाम गरेको प्रेसरको औषधी लिन गएका शिबनाथ बराललाई औषधि बितरणफाँटका फार्मेशी सहायक निर्मला श्रेष्ठले “यो दवाई छैन । अन्तै किनेर खानुस ।” भन्दा सरकारले निशुल्क दिने भन्छ अनि मैले चाहि किन्नै पर्ने? के हो ? यस्तो पारा? भनेर बराल कडकिदै गरेको बेला यो पंकितकार पुगेको थियो ।सोही बेला फार्मेशीका अर्का स्टाफ बिमल खतिवडालाई यो बारे सोध्दा उनले भने “भर्खर टेण्डर हुंदैछ आएपछि लानु ।”
नियमित औषधि खाइ रहने बराललको निम्ति सरकारी औषधी पाउनेकुरा आकासको फल आँखा तरी मर भने जस्तै भएको छ । “सरकारको घोषणा रेडियोमा सुन्ने मात्रै र छ । खानु पर्दा पैसा खर्चेर किन्नै परो , भने केको सरकार ?”
औषधी लिने लाइनमा उभिएका अर्का डाइबिटिज बिरामी तिलक खडकाले गुनासो गरे । खडकाका अनुसार उनले मेटफर नामको १००0एमजीको एउटा र केग्लिम टु नामको अर्को औषधी लिनु पर्नेमा ५सय एमजीको मेटफर मात्रै थम्याई “अर्को आफै किनेर खानु यहाँ छैन” भनेर पठाएका छन । सरकारले २०७४साल देखि नै मापदण्ड बनाएर निशुल्क बाँडिइने औषधीहरुको बिबरण सहित हरेक बर्ष बजेट छुटयांउछ । प्रदेश सरकार र स्थानीय पालिकाहरुमा पनि निशुल्क औषधी सम्बन्धी बजेट छुटिन्छ । तर इटहरी उपमहानगरको स्वास्थ्य महाशाखाले समयमै टेण्डर दिने ब्याबस्था नगरेपछि सेवाग्राहीलाई पर्याप्त औषधी दिन नसकिएको इटहरी अस्पतालका एक जना डाक्टरले नाम नछाप्ने शर्तमा बताएका छन ।
नेपाल सरकारले गत मंसिर १० गते नेपालका सबै वडाहरुमा आधारभुत स्वास्थ्य सेवा पुरयाउने उद्येश्यले अधिराज्य भरि एकै दिन २सय ९६वटा वडामा स्वास्थ्य सेवा भवन शिलन्यास गरे अनुसार इटहरीमा पनि भवन बन्न थालेका छन । इटहरी ६का वडाध्यक्ष दिपक गौतमले वडा कार्यालय अगाडी खाली जमिनमा आधारभुत स्वास्थ्य भवन बनाउन काम थालेको बताएका छन ।
सरकारी घोषणा अनुसार २० वटा वडा रहेको इटहरी उपमहानगरपालिका भित्र सबै जनतालाई स्वास्थ्य सेवाको पहुंच पुग्ने गरिे भटाभट काम थालेको स्वास्थ्य महाशाखा प्रमुख घनश्याम सिग्देलले बताए । सरकारले घोषणा गरेको निशुल्क औषधी बितरण कार्यक्रम भनेको के हो?सेवाग्राहीले किन पर्याप्त औषधी पाउंदैनन?भनेर प्रश्नगर्दा सिग्देलले भने “संघीय सरकारले ६० प्रतिशत पठाउने र प्रदेश र स्थानीयले २० प्रतिशत ब्यहोर्ने भन्ने नीति हो तर यसमा राम्रोसंग तालमेल मिलेको छैन । प्रदेशले पठाउन पनि ढिला गर्ने अनि हाम्रै उपमहानगरमा पनि योबारे राम्रो अभ्यास गर्न पाएनौ अरु अरु नै समस्यामा अल्झि रहेका छौं ।अब चाँडै हाम्रो दायरा अनुसार औषधी खरिद गर्दै छौं ।” संघले उपलब्ध गराउने प्रायः हाम्रो मागको आधारमा नभई उसैको इच्छाले पठाउंने गर्छ र हाम्रो मागको आधारमा सप्लाई गर्न ढिलासुस्ति भएपछि यो समस्या आएको हो सिग्देलको भनाई छ ।
सिग्देलका अनुसार बिमा सुबिधा अनुसार निशुल्क सेवा पाउने बिरामीले ९सय आइटमका औषधी पाउने नीति छ भने बिमा बेगरका बिरामीले ७० आइटमका औषधी पाउने हो तर सेवा प्रदायक क्षेत्र र उपलब्ध गराउने निकायहरुबीच राम्रोसंग समन्वय हुन नपाउंदा सेवाग्राहीहरु सन्तुष्ट हुन नसकेका हुन । “हामीले हाम्रो जिल्ला तहमा धेरैपटक रिपोर्टिंङ गरि सकेका छौं तर सुन्वाई भ्एन।”सिग्देलको भनाई छ । औषधीहरु प्रायः अन्य देशबाट आयत गर्नु पर्ने र यस बर्ष कोरोना महामारीले समेत यो कार्यमा सहज बताबरण नभएको पनि सिग्देलको भनाई छ । संघले खोप ,टिबी,एच.आइभी,परिवारनियोजन,आइरन चक्की, जस्ता सामाग्रिहरु अबाश्यक्ता भन्दा बढी भिडाउने गरेको भन्दै इटहरीको सरकारी स्वास्थ्यसंग सम्बन्धित एक कर्मचारीले भने सेवाग्राहीलाई आबाश्यक पर्ने औषधीहरु जस्तै मुटुरोग,सुगर,प्रेसर,दम,युरिक एसिड,कोलेस्टोर जस्ता दीर्घकालीन आबाश्यक पर्ने आइटमहरु स्थानीय स्तरमा माग भईरहने तर केन्द्रले हतपत पठाउन ढिला गरेको नाम नछाप्ने शर्तमा बताएका छन ।
२०५४सालमा नगरपालिका घोषणा भएको इटहरीलाई २०७४सालमा उपमहानगरपालिका घोषण गरियो । साबिक इटहरीमा ९ वटा वडा रहेकोमा तत्कालका गाउंपालिकाहरु हाँसपोसा,खानार,पकली र एकम्बा मिसाएर २० वटा वडा कार्यालय पारिएको छ ।
साबिक इटहरी ९मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तर बृद्धी गराएर हाल इटहरी अस्पतालमा परिणत गरिएको छ । अस्पतालमा बिरामी जाँच्ने,औषधि लेख्ने,निशुल्क औषधी बितरण गर्ने,उपचारगर्ने जस्ता आधारभुत सेवाको अतिरिक्त डिजिटल एक्स रे, भिडियो एक्स रे सेवा, ल्याव सेवा, विमा सेवा, २४“ घण्टे डेलिभरि तथा ईमरजेन्सि सेवाहरु,रेविज विरुद्दको खोप,एचआईभि तथा यौनरोग परामर्शसेवा , गर्भपतन विशेषज्ञ सेवा जस्ता सेवाहरु दिने गरेको अस्पताल प्रमुख रामकुमार धमलाले बताएका छन ।
धमलाका अनुसार आफनै जग्गामा कम्पाउण्डवाल सहित सो अस्पतालमा वडा नं ८,६,४,३,२,९,७ र १४नं वडाको आधा भाग समेटेर सेवा दिने गरेको छ । यी वडा अन्र्तगत सेवाक्षेत्रमा रहेको जनसंख्या ९३ हजार ६सय ८४ छ । गत आर्थिक बर्ष २०७६।०७७मा ४०हजार ६सय ५५ जनाले सेवा लिएको र यो आर्थिक बर्षको साउन देखि पुस मसान्त सम्म ११हजार ६सय ८० जनालाई सेवा दिएको अस्पताल प्रमुख धमलाले बताए । इटहरी उपमहानगरपालिका वडा नं १२मा रहेको खनार स्वास्थ्य केन्द्रले १०,११,१२र १३न वडाहरु समेटेर सेवा दिने गरेको स्वास्थ्य केन्द्रका प्रमुख दामोदर गौतमले बताएका छन । इटहरी उपमहानगरपालिका १२ खनार बजारमा रहेको खनार केन्द्रका गौतमका अनुसार २४हजार १सय ५१ जना जनसंख्या रहेको आफनो कार्यक्षेत्रमा गत साल लगभग ८हजार जना सेवाग्राहीले सेवा लिएका थिए भने यो चालु आर्थिक बर्षको पुस मसान्त सम्ममा ३२ सय जनाले सेवा लिएका छन ।
उपमहानगरको १७ न.को पकलीमाबि अगाडी रहेको स्वासथ्य चौकीका प्रमुख हरिप्रसाद गौतमका अनुसार त्यस चौकीले १७,र १८ वडाका जनतालाई सेवा दिने गरेको छ ।१५हजार २सय ७९जना जनसंख्या रहेको १७ र १८ न.वडालाई समेटी सो पकली स्वास्थ्य केन्द्रले सेवा दिने गरेको छ । अघिल्लो आर्थिक बर्षमा ४हजार५सय ९५ जनाले स्वास्थ्य सेवा लिएका थिए भने अहिलेको आ.ब.को पुस मसान्त सम्म ७सय २४ जनाले सेवा लिएको स्वास्थ्य केन्द्रको अभिलेखमा उल्लेख छ ।
१८नं वडामा यसै सालबाट आधारभुत स्वास्थ्य सेवा भवन उद्घाटन भएको कुरा केन्द्र प्रमुख हरिप्रसाद गौतमले बताएका छन ।
उपमहानगरको १६नं को एकम्बामा रहेको स्वास्थ्य चौकीका बालकृष्ण गौतमका अनुसार ८हजार ८सय ६१ जनसंख्यालाई समेटेर सेवा दिने स्वास्थ्य केन्द्रले वडा न १४नं को आधा भाग,१५ र १६नं वडाको केही भाग हेर्ने गरेको छ । अघिल्लो आ.ब.मा ५हजार ३सय १जनाले सेवा लिएको र यो चालु आबको पुस मसान्त सम्म १हजार ८ सय २२ जनाले सेवा लिइ सकेको स्वास्थ्य सहायक नविन कुमार शर्माले बताएका छन । खोप,प्रसुति सेवा,गाउंघर क्लिनिक ,आइरन चक्की लगायत महिला स्वयम सेबिकाहरुले वडावडामा दिएको सम्पूर्ण सेवाको अभिलेख अनुसार अघिल्लो आ.ब.मा १२ हजार ६ सय ३ जनालाई केन्द्रले सेवा दिएको शर्माले बताए।
१७ नं वडा पकलीमा सहरी स्वास्थ्य प्रबर्धन केन्द्र रहेको छ । केन्द्रमा पुरुसोतम निरौला रहेका छन। उनका अनुसार यो केन्द्रले पनि स्वास्थ्य चौकीमा जस्तै सेवा दिनुका अतिरिक्त ल्याब सेवा पनि दिने गरेको छ । पहिला यो सेवा वडा न ५मा २०७४सालमा खुलेको थियो ।डेढ बर्ष अघिबाट पकलीमा आएको छ ।आफनै जग्गामा भवन बनेपछि पकली सरेको निरौला बताउंछन ।
यस्ता प्रबर्धन केन्द्रहरु २०वटै वडामा रहने नीति उपमहानगरको रहेको छ । पकलीको १०हजार ३सय २७ जनसंख्यामा यस आ.ब.मा ३ हजारबढीले सेवा लिएको निरौलाको भनाई रहेको छ । वडा न ७,८,३ र १४ न. वडामा आधारभुत स्वास्थ्य केन्द्रहरु संचालन हुन थालेका छन । ४वटा स्वास्थ्य चौकीमा हिंउदको महिनामा १०.००देखि ४.००बजे सम्म र बर्षामा थप १ घण्टा बढाई ५.०० बजे सम्म ओपिडी सेवा,सुरक्षित मात्रित्व सेवा,गर्भवती जाँच, नवजात शिसु जाँच,बच्चाको खोप,तौल,पोषण,बालभिटटा बितरण,क्षयरोगको दवाई,ल्याप्रोसी दवाई,आइरनचक्की,जुका,ड्रेसिंङ सेवा,साधारण चिरफार,पिलो ,रेबिज सुई लगायतका सेवाहरु दिइने गरेको इटहरी उपमहानगरपालिका सामाजिक बिकास तथा स्वास्थ्य महा शाखा अन्र्तगत नर्सिङ निरिक्षक करुणा तिम्सिनाले बताएकीे छन। बिपन्न बर्गले मुटु रोग,क्यान्सर,स्पाइनल इन्जुरी,मृगौला,हेडइन्जुरि,अल्जाइमर,पार्किनसन,प्यारालाइसिस,सिकलसेल एनिमियाँ लगात ८ वटा घातक रोग लागेमा एक लाख रुपैंया बराबरको पैसा सम्बन्धित अस्पतालमा सरकारले ब्यहोरी दिने ब्यबस्था छ।
करुणा तिम्सिनाका अनुसार यस अर्थिक बर्षमा इटहरी उपमानगरका बिभिन्न वडाबाट सिफारिस लिएर आउने ५३ जना रोगीले यो सेवा पाएका छन । बजेटिंगको पाटोमा इटहरीको आन्तरिक स्रोत, पालिकाको स्रोत र सरकारले ससर्त दिने बजेट रहेको छ । यो बाहेक एनजिओ आइएनजिओहरुसंग मिलेर काम गर्दा उपलब्ध हुने बजेट पनि रहेको छ ।
महाशाखाले दिने सेवाहरुमा अनुगमन तथा सुपरिबेक्षण,योजना बनाउने,स्वास्थ्य प्रबर्धन कार्यक्रम राख्ने,सरोकार वाला जस्तै एनजिओ आइएनजिओहरुसंग समन्वय गर्ने,प्राइबेट स्वास्थ्य संस्था दर्ता,नबिकरण, ल्किनकहरु, १५ बेड सम्मको अस्पतालको दर्ता पनि उपमहानगरमै दर्ता थियो तर प्रदेश सरकारले गर्ने भनेर खोसिएको छ । पोलि किल्निकहरु पनि उपमहानगरमै दर्ता हुनु पर्नेमा प्रदेशले अन्यौलमा राखेको छ भन्ने कर्मचारीको गुनासो छ ।
इटहरीको एपेक्स हस्पिटल पहिला इटहरी नगरपालिकमै दर्ता रहेको थियो अहिले प्रदेश सरकारले अन्योलमा राखेको स्वास्थ्य शाखाका एक कर्मचारीले बताएका छन । इटहरी अस्पताल बाहेक अन्य स्वास्थ्य केन्द्रहरुले नेपाल सरकारले उपलब्ध गराएको ३५ किसिमका औषधीहरु मात्र निशुल्क दिने गरेका छन । ती औषधीहरु बितरणको क्रममा प्रायः सकियो भनेर सेवाग्राहीलाई अन्तै पठाई पैसा खर्च गराएर किनाउने गरेको गुनासो पनि छ ।
इटहरी३का वडाध्यक्ष बालकृष्ण बिष्टका अनुसार वडामा रहेको ४कठा जग्गामा ३८ लाख बजेटको ४ कोठे स्वास्थ्य सुबिधाको भवन बन्दै छ ।गैरी टोलमा रहेको सो भवनको लागि संघीय सरकारको स्वास्थ्य मन्त्रालयबाट बजेट प्राप्त भएको हो । पुराण चौकमा रहेको सामुदायिक स्वास्थ्य क्लिनक जो पहिला देखि नै थियो त्यसैमा ३ जना कर्मचारी राखेर खोपसेवा,महिला रोग,सामान्य घाउचोटको औषधी उपचार तथा परामर्श दिने गरिएको छ । नेपाल सरकारले उपलब्ध गराएको निशुल्क पाइने औषधी पनि दिने गरिएको छ । अ.ह.ेब.अनमी र कार्यालय सहयोगिले काम गरि रहेका छन ।
१ न वडामा कार्यालय रहेको स्वास्थ्य चौकीका कर्मचारी एकराज तिवारीका अनुसार १नं वडा लगायत १९ र २० नवडा तरहराबजार क्षेत्रका जनतालाई प्राथामिक सेवा दिने गरिएको छ । उपमहानगरको १ नं वंडा अन्तर्गत हाँसपोसामा रहेको स्वास्थ्य केन्द्रले तीनवटा वडामा २६हजार २सय ३४ जनसंख्यालाई समेटेर काम गरि रहेको प्रमुख रोहित तिम्सिनाले बताएका छन । सो केन्द्रमा गत बर्ष २०७६सालको अभिलेख अनुसार ४ हजार २६ जनाले मात्र स्वास्थ्य सेवा लिएका छन । ६० बर्षमाथिका ३सय ३९ जना आएका थिए भने खोप लगाउने ४हजार १सय ९७ जना रहेका छन । समुदायमा रहेका आमा समुह,महिला स्वास्थ्य स्वयमसेबिका लगायतलाई परिचालन गरि स्वास्थ्य सेवा लिन आउन आकर्षित गरिइने गरिएको तिवारी बताउंछन । तिवारीका अनुसार उक्त चौकीमा पनि ३५ देखि ४० वटा सम्म औषधीहरु निशुल्क दिइने गरिएको छ । बिरामीहरु कहिले काँही मात्र आउने गरेका छन । गाउँमा ६ वटा खोप केन्द्रहरु छन । गाँंघर ल्नििक भनेर २।२ वटा छन ।
१९ न. महौलियामा एउटा भवन बन्दै छ ।तिवारीका अनुसार गत साल आम्दा र करुणा फाउण्डेशनसंग मिलेर जनस्वास्थ्य सम्बन्धी कामहरु गरिए पनि यस बर्ष कोरोना महामारीले गर्दा सरोकारवालाहरुसंग मिलेर काम गर्न सकिएको छैन ।
प्रत्येक वडामा आधाभुत स्वास्थ्य केन्द्र स्थापना गर्ने नेपाल सरकारको लक्ष अनुसार इटहरीमा १४ वटा स्वास्थ्य केन्द्र थपिइने तयारी छ । मेयर द्धारिकलाल चौधरीका अनुसार पहिला ६ वटा साबिकै थिए । कर्मचारी नियुक्त गरेर थप काम गर्न उपमहानगर उत्साहित भएको चौधरीको भनाई छ । इटहरीका २० वटै वडामा १३६ जना महिला स्वयम सेबिका रहेका छन।
सबै स्वास्थ्य संस्थामा जनतालाई आकर्षित गर्न महिला स्वयम सेबिका नै हुन । “उनीहरुले महिनामा रु ६०० भत्ता भन्दा अन्य केही पाउंदैनन। ”एकम्बा स्वास्थ्य केन्द्रंका बालकृष्णा गौतमले भने ।
जनतालाई स्वास्थ्य सेवा दिने प्राइबेट संस्थाहरु पनि इटहरीमा असंख्य छन । “उपमहानगर क्षेत्र भित्र के कति संस्थाहरु छन ?”भन्ने प्रश्नमा माहासाखा प्रमुख घनश्याम सिग्देलले भने एपेक्स,सामुदायिक,बेदान्त,नेहा र पशुपति अस्पताल संचालनमा छन। एउटा टि.आर. अस्पताल बन्द भएको छ । यी अस्पतालहरुलाई जिल्ला,प्रदेश लगायतमा दर्ता अनुमति रहेको छ । धेरै जसो ल्किनकहरु जिल्लाबाटै दर्ता भएर आएका छन । त्यसैले यतिनै छन भन्नेबारे तथ्य दिन मुश्किल छ सिग्देलले भने ।
गरिवीको रेखामुनी रहेका अथवा आर्थिक रुपले बिपन्न नेपाली जनतालाई पैसा नभएकै कारण रोगको उपचार गर्न नसकि ज्यान गुम्ने अबस्था नआओस भनेर संधिानसभा पछि बनेको सरकारले निशुल्क औषधी कार्यक्रम ल्याएको कुरालाई नकार्न सकिदैन ।
सरकारले आफना स्वास्थ्य निकायहरुलाई चुस्त दुरुस्त राख्न नसकेको हो ? या घोषणा गरेअनुसार प्रर्याप्त औषधी नपठाएको हो ?कतिपय सरकारी स्वास्थ्य स्ांंस्थामा कार्यरत कर्मचारी एबं स्वास्थ्य प्राबिधिकहरुले सरकारी कोटाको औषधी आफनो निजी स्वास्थ्य संस्थामा लगेर नाजायज फाइदा लिने गरेको भन्ने समाचारहरु पनि नआएका होइनन । निशुल्क नै गरिइने भनिएका स्वास्थ्य जाँच गर्ने ल्याब सम्बन्धी उपकरणहरु कहिले बिग्रिएको भन्ने त कहिले “यो सेवा दिने कर्मचारी आएकै छैनन त्यसैले बाहिर गएर जाँच गराई रिपोर्ट ल्याउनु ”भन्ने सम्मका कुरा गरेर सरकारी घोषणाको धज्जी उडाउने काम सरकारी सेवाप्रादायक संस्ंथाका जिम्मेवारहरुले गरि रहेको अधिकाँश सेवाग्राहीबाट गुनासो आउने गरेको छ । निशुल्क उपलब्ध गराउने भनिएका रेविज लगायतका भ्याक्सिन आबाश्यक पर्दा सरकारी स्वास्थ्य संस्थाले छैन सकियो भनेर सेवाग्राहीहरुलाई प्राइबेट अस्पताल गएर खर्च गराउने गरेका छन ।
सरकार भनेको असाधारण निकाय होइन । साधन स्रोतहरुको ब्यबस्थापनबारे उपयुक्त किसिमका योजना सहित तयारी गरेर जनसेवामा समर्पित हुनु सरकारको दायित्व हो । मानव स्वास्थ्यको बिषय त झन संबेदनशील कुरा हो? तर सरकारले जनस्तरमा हुने यस्ता समस्याहरु किन सुन्दैन ? केन्द्रकृत शासनले गर्दा दुरदराजका जनता मर्कामा परे भनेर लोकतान्त्रिक गणतन्त्र पछि मुलुक संघियतामा गयो । प्रदेश सरकार हुंदै जनताले पालिका स्तरका स्थानीय सरकार पनि पाएका छन । स्वास्थ्य क्षेत्रलाई त झन सरकारले स्थानीय शासन मातहत मै राखेको पनि छ । आफनै पालिका अन्र्तगत रहेका स्वास्थ्य संस्थाबाट जनताले राम्रोसंग सेवा नपाई घोषित नीतिहरु कार्यान्वयन नहुंदा अनुगमनको ब्यबस्था गर्नु पर्छ की पर्दैन ? निशुल्क सेवाको आश्वासन दिएर मख्ख पार्ने? लोककल्याणकारी काम गरेको भनि भोट माग्ने दाउ पर्खिने तर सेवाको नाममा धोक्का दिएपछि जनता खुशि हुन्छन की बेखुशी? स्वास्थ्य सेवा प्रभाकारी बनाउन हरेक वडामा रहेका नागरिक समाज,बुद्धिजीबी र दलहरुका अगुवाहरुको अधिकार सम्पन्न समिति बनाई हरेक पालिकाले अनुगमन तथा निरिक्षण गरि कहाँ?को बाट कम्जोरी भएको हो? त्यो पत्ता लगाई जिम्मेवारी बहन गर्न झकझक्याउनु पर्छ । हरेक सेवाग्राहीले सरकारले उपलब्ध गराउने सेवा सुबिधा निर्बाद रुपमा उपभोग गर्न पाउनु पर्छ तब मात्र लोककल्याणकारी राज्य ब्यबस्था भन्न सकिन्छ । (इटहरी उपमहानगरपालिका र नेपाल पत्रकार महासंघ सुनसरीको लेखनबृती कार्यक्रममा आधारित)
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


