श्रीपशुपतिनाथको मूलभट्ट सार्की हुनु पर्छ !
–संग्राम सिंह विश्वकर्मा
कथित बहुदलिय प्रजातान्त्रिक व्यवस्थाको पुनरबहाली पश्चात् नेपालमा अरु कुराको परिवर्तन र विकास जेसुकै भएतापनि धार्मिक एवं सामाजिक रितिरिवाज र मान्यतामा भने काफी हलचल आईरहेकोछ । खास गरि देशमा परम्परागत एकाधिकार जमाउँदै आएको हिन्दू धर्म र हिन्दू समाजलाई गम्भीर क्षति पुगी रहेको देखिन्छ । एकातिर राजनैतिक, आर्थिक, शैक्षिक क्षेत्रमा विश्वभरि नै प्रभूत्व जमाएको इसाई धर्मले फ्यांँकेको चारोको लोभलालचमा परि टाँठावाँठा र शक्ति सम्पन्न देखि गरीब गुरुवा नेपाली समेतले हिन्दूधर्म त्यागी धमाधम ‘वपतिस्मा’ लिई रहेकाछन भने अर्कोतिर देशका बहुसंख्यक आदिवासी जनजातिहरुमा ‘हिन्दू धर्म हाम्रो मूल धर्म नभै भारतबाट आएका विजेता आर्यहरुले हाम्रा पराजित पुर्खालाई जबरजस्ती थोपरी दिएको धर्म रहेछ । हामी चेतनशील भएपछि पनि त्यो धर्म मानी राख्नु वा त्यसको निर्देशनमा चल्नु नितान्त गल्ती हो ।’ भन्ने चेत आएकोछ । त्यसैले जनजातिको विद्रोह दावानल झै पूर्व मेची देखि पश्चिम महाकाली सम्म फैलि रहेको देखिन्छ । त्यसैको फल हो कि पहाडमा पूर्वतर्फ खम्वुवान, लिम्वुवान र पश्चिम तर्फ तमुवान, मगरात क्षेत्रमा दशैं/तिहार बहिस्कारका साथै जन्म देखि मृत्यु सम्मका संस्कारमा बाहुन पुरेतको बहिस्कार अभियानले जोर पकडेको देखिन्छ ।
आफ्ना नागरिकले जानअन्जानमा गाइ मारेमा, मान्छे मारे सरहको ज्यान सजाय तोकेर जेल हाल्ने तर त्यस्तै गाईको मासु टन्न पेट भरि खाएर त्रिभुवन एअरपोर्टमा उत्रेको विधर्मी विदेशीलाई भने झुकेर ढोग्दै गाईलाई पनि पुज्ने, गाई खाने विदेशीलाई पनि पुज्ने मतलबी आचरण यहाँका बाहुनवादी शासकले गरेकाछन् । त्यो देखेर दिक्क, वाक्क भएका जनजाति र दलित जनताहरु जातीवादी शोषणबाट मुक्त हुन राहतको खोजीमा लाग्ने क्रममा इसाई धर्म अँगाल्न पुग्नु स्वाभाविकै देखिन्छ । तर “पुजहुँ विप्र सकलगुण हिना, शुद्र नपुजहुँ वेद प्रविणा” जस्ता बाहुन हितरक्षक निति र हिन्दू धर्मले शिर्षस्थ स्थानमा राखिएका एवं धनधान्य र सकल सुविधाले युक्त हिन्दू समाजका अग्रणी बाहुनहरु समेत इसाई धर्ममा लागेको देख्दा अचम्म लागेकोछ । कवि लेखनाथ पौड्यालको “ मौकामा बन्नु पर्दछ शत्रुको पनि सेवक, कोयली कागको पुत्र हुन्छ सानो छँदा तक” भन्ने कविता बाहुनहरुले नै सार्थक पारेकाछन् । हुनत “खाना पन्तका, गाना अन्तका” भने झैं लुम्बिनीका बुद्धको नाउँको मागी खाने भाँडोमा बटुलेर ल्याएको भीक्षाले पशुपतिनाथको आगँनमा कोटी होम गर्ने प्रचलन भएको यो देशमा कोयलीले कौआलाई ठगेर आफ्नो बच्चा हुर्काए जस्तै प्रभू ईशुलाई ठगेर आफ्ना सन्तान नातागोतालाई फ्रान्स अमेरिका पठाई सित्तैमा डाक्टर, इन्जिनियर बनाउनु बाहुनको लागि कुनै नौलो कुरा होइन । अझ ती सन्तानको सके त्यतै बिहे समेत गराई विदेशी बुहारी वा जवाइँको आड़मा डलरको खेती समेत गर्न नचुक्ने ती ठगहरुको धर्म परिवर्तन रुपी नाटकमा कुनै अचम्म मान्नु पर्ने छैन । बरु उनै मौका परस्तको देखासिकीले इसाई वन्न पुगेका हिन्दू धर्म द्वारा शोषित जनजाति र दलितहरुलाई चाँही धर्म परिवर्तन गर्न दिनु हुँदैन भनि एकोहोरो फलाकी रहेका विश्व हिन्दू महासंघका राष्ट्रिय अध्यक्ष अच्यूतराज रेग्मी, योगी नरहरिनाथ, नक्कली बाहुन बनाईएका.डा. स्वामी प्रपन्नाचार्य आदि कथित हिन्दू धर्मका रखवारेहरुको चिन्ता प्रति भने अवश्य अचम्म मान्नु परेकोछ ।
तिनै चिन्तकहरुले ऐले राष्ट्रिय चर्चाको रुपमा ल्याएको विषय “श्रीपशुपतिनाथको मूलभट्ट पदमा परम्परा देखि एकाधिकार पाई आएका दक्षीण भारतीय व्राह्मणहरुको वर्चस्व समाप्त गरि त्यसमा नेपाली व्राह्मणहरुको वर्चस्व कायम गरिनु पर्ने” कुरामा व्राह्मणेतर सबै नेपालीले ध्यान दिनै पर्ने देखिएकोछ । पशुपतिनाथको दैनिक आयश्रोतमा पूर्ण निगरानी राखी त्यसको हिसाब किताब नियमित राख्नु पर्ने र त्यस रकमबाट सोहि देवस्थलको स्याहार संभार गरिनुका साथै दक्षिण भारत स्थित तिरुपति वालाजी मंदीरमा जसतै अस्पताल, पाठशाला, धर्मशाला आदि राष्ट्रिय एवं सामाजिक विकासका कार्यहरु संचालन गरिनु पर्ने कुरामा कुनै नेपालीको दुईमत हुन सक्दैन । किनकि त्यस मंदीरको मूल ढुकुटीबाट देश र समाजलाई आवश्यक परेको बेला अघि पनि धेरै सहयोग लिईएको कुरा इतिहासले बताउँछ । जस्तैः गोरखालीहरु संगको लडाईमा कान्तिपुरको रक्षार्थ पल्टन जुटाउन तत्कालिन राजा जय प्रकाश मल्लले, नेपाल अंग्रेज युद्धमा नेपाली पल्टनको शक्ति बढाउन प्रधानमन्त्री भीमसेन थापाले र परम्परागत कमाराकमारीहरुलाई अमलेख गर्न श्री ३ चन्द्रशम्शेर राणाले त्यस ढुकुटीबाट सहयोग लिएको देखिन्छ ।
मूलभट्ट परिवर्तन गर्ने बारेमा ऐलेसम्म परम्परागत रुपले हिन्दू धर्म मै आस्था राखी टिकेर बसेका जनजाति र दलितहरुले राम्ररी सोंच्नु पर्ने भएकोछ । बाहुनलाई जन्मजात पुरोहित मान्ने जमाना अब रहेको छैन । यदि श्रीकृष्णको “जन्मना जायते शुद्रो कर्मणा द्विज उच्येते” भन्ने उक्तिलाई नै लिने हो भने जो कोहि पनि कर्मले मात्र बाहुन हुने हुँदा पशुपतिको मूलभट्ट बन्न कर्मकान्डको ज्ञाता भएमा हिन्दू धर्माबलम्बी जुनसुकै जातको व्यक्ति भए पनि हुने व्यवस्था बनाइनुपर्छ । त्यसो भएमा ऐलेको जातपात भेदभाव विहिन संविधान र मुलुकी ऐनको उद्देश्य, मर्म र मनशाय अनुकुल पनि हुनेछ । जसरी मस्जीदको मौलवी जुनसुकै जातको मुसलमान पनि हुन सक्छ, गिरजाघरको पादरी जुनसुकै जातको इसाई पनि हुन सक्छ त्यसरी नै पशुपतिनाथको मूल पुजारी पनि योग्यता पुगेको हिन्दू धर्मावलम्वी जुनसुकै जातको नेपाली हुन पाउने व्यवस्था भएको खण्डमा नेपालमा बल्ल वास्तविक प्रजातन्त्र आएको महसूस गरिनेछ । विराटनगरका नारायण प्रसाद पोखरेलकी पत्नी बनेपछि हिन्दू वनेकी गौराङ्गना कृष्चियन युवतीलाई तथा हिन्दू बनेका हरेराम बालग्रुपका गौराङ्ग विदेशीहरुलाई र सुब्रह्मन्यम् स्वामी जस्ता पछि हिन्दू बनेकाहरुलाई समेत पुजा गर्न पशुपतिनाथको मंदीरमा प्रवेश दिनु पर्छ भनि वकालत गर्दै आएका वि.हि.महासंघका राष्ट्रिय अध्यक्ष अच्यूतराज रेग्मीले हिन्दू एकता र राष्ट्रहितको लागि यस कुरामा पनि सहमति जनाई वकालत गर्नु आजको खाँचो हुन आएकोछ ।
किराँती बाहुन स्वामी प्रपन्नाचार्य वा सार्की बाहुन “क” बहादुर सार्की जो सुकैले पनि योग्यता भएमा मूलभट्ट बन्न पाउने भएपछि कसैले पनि हिन्दूधर्म छोडेर कृश्चियन वा मुसलमान बन्ने छैनन् । फलतः अच्यूतराज, नरहरिनाथ वा हिन्दू धर्मका कथित हित चिन्तक कसैले पनि यस बारे आँशु बगाउनु जरुरी पर्ने छैन । वि.सं.२०५१ असोज २२ शनिवारको कान्तिपुरमा प्रकाशित खबर अनुसार साहित्यकार विश्वेश्वर प्रसाद कोइरालाको बहुचर्चित उपन्यास `सुम्निमा’ लाई प्रधानमन्त्री गिरीजाप्रसाद कोईरालाको निवासस्थान अगाडि़ विराटनगरमा जलाउने दलित जनजाति एक्सन कमिटी, केन्द्रिय कार्यालय विराटनगरको १७ असोज २०५१ मा बसेको बैठकले यदि हिन्दूधर्म बाट अन्य धर्ममा हुने पलायनलाई रोक्ने हो भने काठमाण्डौंको पशुपतिनाथको मूलपुजारी ‘सार्की’ जाति बाट राखिनु पर्छ भन्ने निर्णय पारित गरी कार्यान्वयनको लागि सरकार समक्ष पठाएको र तेसको लागि दबाब दिन ‘ गो टु द पशुपति’ अभियान चलाएकोछ । त्यसरी हरेक जाति मूलभट्ट बन्न पाउने व्यवस्था गरिएपछि वाल्मिकी संस्कृत महाविद्यालय र महेन्द्र संस्कृत विश्व विद्यालयहरुमा हिन्दूधर्मावलम्बी जुनसुकै जातका छोराछोरीले पनि ऐले बाहुनका छोराछोरीले पाए सरहको सहुलियत सुविधामा पढ्न पाउने व्यवस्था सरकारबाट अनिवार्य रुपले गरिने नै छ ।
यदि उपरोक्त कुराको विपरित जाल-प्रपंच रची मूलभट्ट बन्ने साविक परम्पराबाट दक्षीण भारतीय बाहुनलाई घोँक्रे ठ्याक लगाइ त्यसको स्थानमा नेपाली बाहुन मात्रलाई स्थापित गराउने नयाँ परम्परा शुरु गर्ने हो भने मूलभट्ट परिवर्तनको यो विषयलाई राष्ट्रिय चासोको रुपमा उठाईनु व्यर्थछ । किनकि त्यस अवस्थामा बाहुन बाहेकका अन्य जाती, जनजाति र दलित समेत सबै देशवासीको लागि यो विषय साँंपनाथलाई लखेटेर नागनाथलाई भित्र्याउने जस्तो हुनुका साथै कौवालाई बेल पाकेर हर्ष न विस्मात सरह हुनेछ । परिणामतः ऐले चलि रहेको धर्म परिवर्तनको गतिले अरु तीब्रता लिनेछ र त्यसलाई रोक्न कुनै तागतले सक्नेछैन । हलो अडकाएर गोरु पडकाउने हलिलाई विद्रोही गोरुले जुवा भाँचेर सिंगले हिर्काई मारे झैं हिन्दू धर्ममा रहँदा पनि विभिन्न जालझेल र जातीय थिचोमिचोले सताउने, राहत पाउन अरु धर्ममा जान खोज्दा पनि रोक लगाउने फटाहा दुश्मनलाई जनताले ठेकान अवश्य लगाउनेछन र गृहयुद्ध चम्कन सक्नेछ । वास्तविक रुपले यो देश, समाज र हिन्दूधर्मको हित चाहने जिम्मेवार निकायहरुबाट समय मै यस वारे गम्भीरता पूर्वक सोंचिनेछ भन्ने आशा यो लेखले राखेकोछ ।
—०—
(दैनिक लुम्बिनी २०५५ जेष्ठ २८ गते बिहीवार, बुटवल)
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


