Spread the love


इटहरी
जिल्ला प्रहरी कार्यालय सुनसरीले आर्थिक मुद्धामा परेको आशंकामा इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीसहित एक प्रहरी निरीक्षक सहित तीनजनालाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको निर्देशन अनुसार स्पष्टीकरण सोधेको छ ।
आर्थिक प्रलोभनमा परी मुद्दा कमजोर बनाउनुको साथै अनावश्यक रकम मागेको आरोपमा डिएसपी इन्चार्ज धर्मराज भण्डारी,मुद्दा शाखाका प्रहरी निरीक्षक मानबहादुर श्रेष्ठ र महिला सेलकी इन्चार्ज सई कृष्ण अधिकारीलाई कार्बाही प्रारम्भ गरि
स्पष्टीकरण सोधिएको स्रोतले बतायो ।

डिएसपी भण्डारीसहित सबैलाई बिहीबारको मिति राखी २४ घण्टा भित्र लिखित स्पष्टीकरण दिन भनिएको छ । वैशाख महिनामा इटहरी २० मा रहेको एप्पल ट्रि मन्टेश्वरीमा कर्मचारीका रूपमा कार्यरत एक १९ वर्षीय युवतीलाई मन्टेश्वरी सञ्चालक सन्तोष कटवालले जबरजस्ती करणीको प्रयासको घटनामा मुद्दा नचलाउने भन्दै प्रहरीले आर्थिक चलखेल गरेको थियो । कटवाल विरुद्धको जाहेरीथ प्रहरीले १७ दिनपछि मात्र दर्ता गरेको थियो । कटवाल तरहरा जेसिजका उपाध्यक्ष रहेको बताइएको छ ।यस घटनामा इटहरी प्रहरीले पाँच लाख नगद लिएको र पछि मुद्दा दर्ता गरेपछि उक्त रकम फिर्ता गरेको भन्ने कुरा सनसनी भएको छ ।
महिला अधिकारकर्मीहरूले दबाब दिएपछि जेठ १३ गते जबरजस्ती करणी उद्योगमा सो मुद्दा दर्ता भएको थियो । यस्तै इटहरी ९ को रिभर साइड रिर्सोटमा छापा हानि ६ जना पुरुष र एक महिलालाई नियन्त्रणमा लिएको घटनामा पनि इटहरी प्रहरीले आर्थिक चलखेल गरी ६ जनालाई छाडेको आरोप छ । बैङ्कका कर्मचारी र एक महिला यौन गतिविधि गरिरहेको अवस्थामा रंगेहात पक्राउ गरेको घटनामा महिलालाई मात्र मानव बेचबिखनको मुद्दा चलाइएको थियो । त्यो घटनामा पनि इलाकाप्रहरी कार्यालय आर्थिक मामिलाले गर्दा बदनाम छ ।

इटहरी २० मा झगडा हुँदा ट्याक्टरले किचेर मृत्यु भएको घटनामा पनि प्रहरीले एक जनालाई प्रतिवादी नबनाउने भनेर रकम माग गरिएको थियो ।

इप्रका इटहरीमा कार्यरत केही प्रहरीले विभिन्न मुद्दामा आर्थिक रकम माग गरेको गुनासो र प्रमाणको आधारमा प्रहरीलाई स्पष्टीकरण मार्फत प्रकृया सुरु गरिएको स्रोतको भनाई छ ।