Spread the love
whatsapp sharing button
email sharing button

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओलीसँगको निरन्तर वार्ता फलदायी हुन नसकेपछि असन्तुष्ट पक्षका नेताहरु अस्ति मंगलबार साँझ वानेश्वरस्थित एक होटलमा भेला भए ।

पार्टीका कार्यकारी अध्यक्ष भनिएका पुष्पकमल दाहाल प्रचण्डले संयोजन गरेको उक्त भेलामा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतको उपस्थिति थियो । साथै, प्रचण्ड नेपाल पक्षका केही प्रभावशाली स्थायी कमिटी सदस्यसमेत सहभागी भेलाको एउटा मात्रै अजेण्डा थियो– ओली सच्चिनेवाला देखिएनन्, अब कसरी जाने ?

करिब साढे दुई घण्टा भएको छलफलको निश्कर्ष रह्यो– ओलीविरुद्ध मिडियालाई अझ सशक्त बनाउने । यसका लागि मूलधारका मिडियामा सकेसम्म ओलीलाई नंग्याउने । तर सिधैं यसो गर्दा अबगाल आइलाग्ने ठानियो । अनि तय भयो विभिन्न सञ्चारमाध्यममा काम गर्ने आफूनिकट पत्रकार बोलाएर कुरा खुलस्त राख्ने । त्यही दिन दिउँसो प्रचण्ड र खनालले ओलीसँग करिब डेढ घण्टा वार्ता गरेका थिए । तर ओली अरुको कुरै नसुन्ने आफ्नो कुरा भने लाद्ने मनस्थितिमा अटल देखिए । जसले गर्दा नेताहरु आजित भएर यस्तो भेला गरेका थिए ।Advertisement


नयाँ बानेश्वरको अर्याल होटलमा चलेको सो भेलाले दिएको म्याण्डेट बमोजिम हिजो बुधबार नेताहरुले आफूनिकट पत्रकारलाई भेला गराए । त्यहाँ ओली निकट पत्रकार भने बोलाइएका थिएनन् । यसको सुइँको बालुवाटारमा पुगीसकेको थियो । त्यसैले हिजो बुधबार साँझ ५ बजेका लागि तय गरिएको ओली प्रचण्ड वार्ता एक दिन सारियो । तर हिजो नेताहरुले पत्रकार भेला गरेपछि फेरि परिस्थिति भाँडिएको छ । बालुवाटार अर्काे वार्ता गर्न त्यति उत्सुक देखिएको छैन । अझ भनौं हिजोको पत्रकारसँगको भेलाले वातावरण बिगार्ने काम गरेको छ । यद्यपि ओलीका तर्फबाट साक्षी बसेका सुभाषचन्द्र नेम्बाङ भने वार्ताको श्रृँखला फेरि जोडिने दावी गर्छन् ।

वार्ता सहमतितर्फ उन्मुख भइरहेका बेला प्रचण्डलगायत असन्तुष्ट नेताहरुले पत्रकार बोलाएर अनन्य रोदन गरेको भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आक्रोश पोखेका छन् । सामाजिक सञ्जालमा उनले नेताहरुप्रति विषवमन गरेका छन् । लगत्तै प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुुगलले थापाको आरोपको खण्डन गरेका छन् । उक्त भेला नियोजित रुपमा नगरिएको र प्रधानमन्त्रीप्रति बैरभाव वा गालीगलौज नभएको पनि उनले दावी गरेका छन् ।

तर बालुवाटारले भने पत्रकारहरुको सो भेलालाई निको मानेको छैन । ओली निकट पत्रकार तथा प्रेस संगठन नेपालका सहसंयोजक गणेश बस्नेतले फेसबुुक स्टाटसमा लेखेका छन्– आफूलाई नबोलाइएको सो भेलाको टेप रेकर्ड सुनियो, सुनिसकेपछि बेकार गरिएछ जस्तो लाग्यो । उनले भेलामा ओलीलाई सत्तोसराप गरेको भन्दै क्षोभ प्रकट गरेका छन् ।
प्रधानमन्त्री ओली हिजोको घटनाप्रति ज्यादै संवेदनशील हुनुभएको भन्दै प्रेस सल्लाहकार थापाले यस्तै प्रवृत्ति दोहो¥याउने हो भने अब वार्ताको औचित्य नरहेको पनि बताएका छन् ।

त्यसैले तत्कालै वार्ताको सम्भावना पनि नरहेको उनले संकेत गरेका छन् । आज बिहानै बालुवाटार पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले पनि हिजोको भेला गैर राजनीतिक र पार्टी एकता विरोधी भन्दै आपत्ति जनाएका छन् । वालुुवाटार निकट स्रोतका अनुसार बिहान ओलीसँग भेट्ने पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा र सांसद महेश बस्नेतले समेत अब पार्टी एकता कायमै राख्न मुुश्किल भएको धारणा राखेको स्रोतले बताएको छ ।

सबैका कुरा सुनेका प्रधानमन्त्री ओलीले प्रेस सल्लाहकार थापालाई विरोध गर्न अह्राएका थिए । लगत्तै थापाले सामाजिक सञ्जालमा रोष प्रकट गरे । बालुवाटारमा विकसित पछिल्लो घटनाक्रमले नेकपा भित्रको रडाको तत्कालै समाधान नहुने प्रष्ट संकेत गरेको छ । दुई अध्यक्षबीच प्रत्यक्ष वार्ता भइरहेका बेला पत्रकार बोलाएर अन्तर्विरोध छताछुल्ल पा

र्न खोज्नुको अर्थ के हो भन्दै ओली निकटहरुले प्रश्न उठाएका छन् ।

उता, असन्तुष्ट पक्ष भने पार्टी प्रणालीमा बहुमतलाई बन्धक बनाउने र नेताहरुको तेजोबध गर्ने ओलीको शैली आपत्तिजनक र गैर राजनीतिक चरित्रको भएको भन्दै चर्काे आलोचना गरिएको छ । वरिष्ठ नेता माधव नेपाल निकट एक केन्द्रीय सदस्यले भने – उहाँहरुले विधि पद्धति नमान्दा हुने ,हामीले कुरा गर्न समेत नपाउने ? यो कस्तो प्रवृत्ति हो ।

परिस्थिति काबुु बाहिर जान थालेपछि ओली निकट सुभाषचन्द्र नेम्बाङ भने थप सक्रिय भएका छन् । उनले दुबै अध्यक्षबीच जारी सम्वादले निकास दिने विश्वास लिएका छन् । त्यसैले आज बिहानै उहाँ अर्का अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार जानु भएको छ– निकटवर्ती स्रोतले बतायो । भेटपछि नेम्बाङ बालुवाटार पुगेका थिए । उनले प्रचण्डको सन्देश ओलीलाई सुनाएको बुझिएको छ । तर अर्काे वार्ता भने कहिले थाल्ने भन्ने चाहिं अझै स्पष्ट भइसकेको छैन ।

स्रोत भन्छ–प्रचण्डसँग सहमति हुनसक्छ, तर नेपाल र खनालको चर्काे दवाव छ । तर नेकपा भित्र देखापरेको पछिल्लो परिस्थितिले संकटको सहज निकास भने फेला पार्न मुश्किल नै देखिन्छ ।