Spread the love


पुनम बिक ,इटहरी
हेण्डिक्राप्टका सामान बनाएर बेचेबापत दैनिक एक हजार ५ सय कमाउने इटहरी ४ पंचकन्या टोलकी देवकुमारी राईको लकडाउन भए देखि आज सम्म एक रुपैंया पनि आम्दानी छैन।
महिला सीप बिकास तालिम केन्द्र इटहरीबाट तालिम लिएर स्वरोजगार बनेकी राई पोते,माला,जुता र चप्पल लगायत महिला सौन्दर्य सम्बन्धी सामाग्री बनाएर चार बर्ष अघि देखि आत्मनिर्भर बनेकी थिइन । बनाएका सामाग्रीहरु सिप बिकास तालिम केन्द इटहरीले नै किनेदिने भएको हुनाले राईको मेहनत निक्कै बढेको थियो । “कहिलेकाही त दैनिक कमाइ २ हजार ५ सय सम्म हुन्थ्यो’ राई भन्छिन ।
उत्पादन गर्न आबाश्यक पर्ने अन्य सामानको लागि आवश्यक चीजहरु पनि किन्न नपाइने र बनाएका सामान बिक्री गर्ने अबस्था नभएपछि यतिवेला संस्थाकै अगुवाइमा महिलाहरु मिलेर नौमति बाजा बजाउने तालिम लिइ रहेकी छन । महिला सिपबिकास तालिम केन्द्रकी अध्यक्ष राधिका थापाले अबसर जुटाइदिएपछि नौमति बाजा बजाउने तर्फ रुचि राखेकी राईले लक डाउनलाई अबसरको रुपमा लिएकी छन । भन्छिन, “खुलेपछि आफनो सिपमुलक काम थालिहाल्छु । अहिलेलाई बाजा सिक्दैछु ।’बाजा सिकेपछि कार्यक्रमहरुमा पेशागत रुपलेनै सहभागी हुने बताउंदै भनिन हामी २२ जना महिला छौं ।म टेम्को, ढोलक र दमाह बजाउंने कला सिक्दै छु । तलेजु सहकारीमा आबद्ध सदस्य महिलाहरुलाई समेटेर यस्तो असहज अबस्थामा संस्कृती संरक्षणमा समेत टेवा पुग्ने काम गरेको महिला सिप बिकास केन्द्रकी अध्यक्ष राधिका थापाले बताउनु भयो ।
माओवादी यूद्धमा जनमुक्ति सेनामा सहभागी भई शान्तिवार्ता देखि बिश्राम लिएपछि सिंगर सुज सेण्टर नामक जुता उद्योग संचालन गर्दै आएका इटहरी ८ का सुमन मंग्रातीले पुंजि बढाएर अन्य दक्ष र व्यवसायिक पार्टनरसंग मिली दरबार सु एण्ड कम्पनी प्राली नामक कम्पनी खोलेर बैशास १ गते भब्य उदघाटन गर्ने योजना बनाएका थिए । बैंकबाट ऋण पाउने पक्का भएकोले २५ जनालाई रोजगार दिएर ६ महिना भित्रमा स्टाफ बढाई दिनको ५ सय जोर जुत्ता उत्पादन गर्ने उद्धेश्यले फागुनको पहिलो हप्ताबाटै बिराटचौकमा फयाक्ट्री बनाउन ५।६ लाख लगानी गरिसकेका थिए । पार्टनरहरुको जोडबलले धितो व्यवस्था मिलाई बैंकिङ प्रकृयामा पुगेपछि ऋण स्वीकृत हुने बेलामा लकडाउन सुरु भईदियो । मंग्राती भन्छन “हाम्रो योजनामा तुषारापात आइहालेको छैन । कहिले लकडाउन खुल्छ अनी उद्योग सुरु गर्ने भनेर व्यग्र प्रतिक्षामा छौं ।“ झण्डै १० बर्ष जुता उद्योगमा कामको अनुभव हासिल गरेका मंग्रातीेका अनुसार इटहरीमा साना ठूला गरि २० बटा जुता उद्योग छन । लकडाउन भएपछि झण्डै जुता उद्योगको क्षेत्रमा झण्डै एक हजार मजदुर बेरोजगार रहेको मंग्रातीको भनाइ छ ।
इटहरी १६ बालग्रामकी बिनिता राईले सोही ठाउँमा खाजा घर चलाएर दैनिक एक हजार बचत गर्थिन । कोरोना महामारि संगै जारी लकडाउनले पसल बन्द भएपछि चार सय कुखुरा पालेकी छन । “चारो खुवाउन पनि मुस्किल छ । महंगी उस्तै अब कहिले लकडाउन खुल्ला र दोकान सञ्चालन गर्ने ?’ भन्ने पर्खाइमा छिन बिनिता ।
सोही ठाउँंका कुल बहादुर निरौला ग्रील व्यवसायी हुन । हिमशिखर ग्रील उद्योग खोलेर १४ बर्ष बिताएका निरौला सुनसरी ग्रील ब्यबसायी संघको प्रथम उपाध्यक्ष पनि हुन । २० जनालाई रोजगार दिएर काम गर्दा खर्च कटाई मासिक ५० हजार कमाउंने निरौलालाई अहिले सुको कमाई नहुंदा मुस्किल छ । बैंकले ब्याज बुझाउन तागेता गर्दैछ । ग्रील उद्योगमा रहेका १२ जना कामदारलाई कामै नभएपनि खाने खर्च दिएर सहयोग गरिरहेको बताउछन । “के गर्नु पहिला देखि काम गरेका स्टाफहरुलाइ यो विपतमा सहयोग गर्नै पर्यो, निरौला भन्छन ।’
नेपाल यूवा उद्योमी मञ्च सुनसरी शाखाका अध्यक्ष बिनोद पौडेल इटहरी क्षेत्रमा झण्डै ३ हजार उद्योमी यूवा आबद्ध रहेका उद्योगहरुको अबस्था नाजुक रहेको बताउँछन ।इटहरी क्षेत्रमा आपmनै नाममा उद्योग दर्ता गरि अनिबार्य पान न. लिएका २५ हजार बढी उद्योगी मध्ये अनुमानित ३० प्रतिशत यूवा बर्गको संलग्नता रहेको अनुमान पौडेलको छ ।लकडाउनको बेला अति आवश्यकीय सेवा अन्तर्गत पर्ने ग्यांस, पेट्रोल,खाद्यान्न, संचार लगायत उद्योगमा आबद्ध यूवा उद्यमीहरुले ३० देखि ४० प्रतिशत व्यापार घाटा व्यहोरेर काम गर्न बाध्य भएको पौडेलले बताए । जनशक्ति नहुंदा प्याकेजिङ, लेबलिङ, आयात लगायतका काममा निक्कै समस्या सहेर लक डाउनको सामना गर्नु परिरहेको पौडेलको भनाइ छ । लकडाउनको कारण कारोवार शुन्य अबस्थामा रहेको अटो,होटल,पर्यटन,रेडिमेट,इलेक्ट्रिक,स्कूल,टे«निङ सेन्टर,कन्सल्टेन्सी,गहना पसल लगायतमा परेको आर्थिक प्रभावलाई संघीय ,प्रदेश सरकार हुंदै स्थानीय तहमा रहेका निकायहरुले गम्भीरताका साथ हेर्नु पर्ने पौडेलको आग्रह छ । बैंक ऋण तिर्ने सन्दर्भमा सहजिकरण गराइदिनका साथै बिभिन्न कर, दस्तुर, नबिकरण, जरिवाना लगायतका आर्थिक पक्षमा सम्बन्धित सरोकारवाला निकायको सहयोग आवश्यक रहेको पनि पौडेलको भनाई छ ।
कोरोना संक्रमणको यो महामारीको क्रममा अब बिदेशबाट फर्किने यूवाको सिप कसरी नेपालमै सदुपयोग गरेर उनीहरुबाट फाइदा लिने ? यो संगै यहीं संघर्षरत युवा उद्यमीहरुलाई कसरी टिकाउने भन्ने विषयलाई अब सरकारले निकै गम्भिरताका साथ लिनु पर्ने देखिन्छ । यो गम्भीर विषयमा अर्थविद देखि लिएर योजनाकार र सम्बन्धित पक्षलाई सहभागी गराइ आफूहरुले छलफल चलाईरहेको पौडेलको भनाई छ ।
इटहरी ८ बसपार्क क्षेत्रमा रहेको दक्षसिप प्रशिक्षण तथा रोजगार केन्द्रका प्रमुख सुमन साहको पनि दैनिक २सय ३० जनालाई बिभिन्न सिप सिकाउने कार्य बन्द भएको छ । साहले ड्राइभिंग, कुक,बेटर,टायल मार्बल,सिलाइकटाई,बिल्डिङ,प्लम्विङ,ब्युटिसियन,इलेक्ट्रिसयन,हाउस वाइरिङं मोवाइल मर्मत कृषि लगायत १६ वटा विधामा सिप सिकाउने गर्दथे । इटहरी बाहिरबाट आएर सीप सिक्दै गरेका दुइ सय बढी बिद्यार्थी लक डाउन सुरु भएपछि अलपत्रमा परे । त्यस मध्ये ५० जना जति सम्पर्कमा रहेर कहिले खुल्छ भन्दै प्रश्न गरिरहेको साहले बताए । केन्द्रले यो अवधीमा ३३ लाख घाटा व्यहोरेको छ ।
प्रदेश सरकारको उद्योेग मन्त्रालयको सहयोगमा एक करोड बराबरको बजेट संझौता पछि इटहरीलाई केन्द्र मानेर सुनसरी, रोल्पा र धनकुटामा सिप सिकाइ रहेकी महिला सिपबिकास केन्द्र इटहरीकी अध्यक्ष राधिका थापाका अनुसार ६ सय जनाको सिकाइ प्रकृया रोकिएको छ ।मोबाइल मर्मत,सिलाई कटाई,ढाकाटोपी,अचार,होम स्टे टे«निङ, टेलर मास्टर,हेण्डिक्राप्ट, एसी मर्मत ,कुक,सेकुरिटी गार्ड,ड्राइभिङ लगायतका बिषयमा तालिम दिने गरि काम सुरु भएको थियो । यो योजना अन्तरगत दश प्रतिशत रकम मात्र निकाशा थियो । उधारोमा काम भएको छ । पार्टीलाई तिर्ने पैसाले किचकिच हुंदैछ ,कर्मचारीलाई तलब दिएको छैन । थापाका अनुसार यो अबस्थामा चालिस जना कर्मचारीको बिजोग छ । सरकारबाट रकम आए पछि दिउंला भनेर संझाई रहेको उनको भनाइ छ ।
व्यवसायिक तथा सिपबिकास तालिम प्रतिष्ठान इटहरीका प्रमुख धर्मेन्द्र धमलाका अनुसार यो बर्ष ७ सय १० जनालाई विभिन्न तालिम दिनु पर्नेमा ५ सय भन्दा बढीको तालिम प्रभाबित भएको छ । “प्रतिष्ठान आफैले गत साउन देखि २०÷२० जनाको दुइ समूह ब्युटिपार्लरको तालिम गरेको छ । त्यस्तै २० जनाकै दरले सिलाइकटाई तालिम पनि दिन भ्याएर प्रमाण पत्र दिएर पठाइयो । तेस्रो लटको तालिम अनतर्गत ब्युटिपार्लरमा २० जना, सिलाई कटिंगमा २० जना र कम्प्यूटरमा २० जनाको तालिम सकिइन एक हप्ता मात्र बांकी हुंदा लक डाउन लागि हाल्यो ।’ भन्दै प्रमुख धमलाले इटहरी उपमहानगर उपप्रमुख लक्ष्मी गौतमले कार्यालयमै आएर ’तालिम बन्द गर्नुस ’ भनेपछि बन्द गर्न बाध्य भएको बताएका छन । तेस्रो लटको तालिम पनि अधुरो रहेको र चौथो लटको कुनै प्रकृया नै नथाली आर्थिक बर्ष सकिन लागेकोले लक्ष्य हासिल हुन नसकेको धमला बताउंछन । अधुरो रहेको तेस्रो लटका विद्यार्थीलाई असार अन्तिम सम्म भएपनि बोलाएर प्रकृया पुरयाई प्रमाण पत्र दिलाउने प्रयास गरिने छ । प्रतिष्ठानको लक्ष्य अनुसार नीजी क्षेत्रका तालिम केन्द्रहरुलाई कोटा अन्तर्गत दिइने ५ सय हाराहारीको संख्यामा आउने प्रशिक्षार्थी विद्यार्थीहरुको भर्ना प्रकृया पनि लक डाउनका कारण रोकिंएको अबस्थाले बेरोजगारी समस्या थप जटिल बन्ने निश्चित छ । धमलाका अनुसार बोलपत्र स्वीकृत भईसकेका केन्द्रहरुले छनौट प्रकृया थाल्दा थाल्दै लक डाउन भएपछि पुरै प्रकृया स्थगन भएको हो । इटहरी क्षेत्रमा स्वरोजगार सम्बन्धी तालिम दिने शैक्षिक संस्थाहरु कोरोना भाइरसको संक्रमणको कारण जारी लकडाउनले गर्दा लक्ष्य अनुसार जनशक्ति उत्पादन गर्न नसकी रहेको अबस्था र सिप आर्जन गरि व्यवसाय संचालन गरिरहेका उद्यमी वर्गको समस्यालाई उचित संबोधन गर्न सरकारका जिम्मेवार निकायमा ध्यानाकर्षण गर्ने काम जारी राखेको उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले बताएका छन ।
–(इटहरी उपमहानगर पालिकाको लेखन बृती कार्यक्रम अन्र्तगत)