Spread the love

काठमाडौँपेज । बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका संयोजक बिश्वभक्त दुलाल आहुतिले संविधानमा दलित मुक्तिको कुरा नलेखिएको बताएका छन । संविधानले दलितको मक्ति गर्न नसक्ने चर्चा गर्दै उनले भने “नेपालमा ठूलो भ्रम छ संविधानमा लेखिएको छ, लागु गर्नु पर्यो नी, के लेखेको छ संंविधानमा ? छुवाछूत भेदभाव गम्भीर सामाजिक अपराध लेखेको छ, वडामा एकजना दलित महिला आउने लेखेको छ दुईनम्बरमा पर्ने समानुपातिक सांसदहरु लेखेको छ, अरु के लेखिएको छ ? यो भ्रम हामीले त्याग्नु पर्छ संविधानमा दलित मुक्तिको कुरा लेखिएको छैन ।”

दलितलाई भूमि दिने भनेर लेखिएपनि सुकुम्बासीलाई जसरी घडेरीमा परिणत गरिएको छ । त्यो पनि दलितले पाउने संभावना कम छ । रुकुम नरसंहारको विरोधमा संयुक्त दलित संघर्ष समिति नेपालद्धारा आइतबार आयोजित बिरोधसभामा बोल्दै आहुतिले नेपालको जात व्यवस्थाको अन्त्यका लागि अर्को क्रान्ति जरुरी रहेको बताएका छन । रुकुम चौरजहारी नरसंहारमा शासकहरुको संलग्नता रहेको उनको दावी छ ।

शासकहरु नै घटनालाई ढाकछोप गर्न लागि परेको उनले बताए । आहुतिका अनुसार घटना जातको आधारमा भएको होइन भन्ने प्रमाणित गर्न शासकहरु लागिका छन् । उनले भने “जवरजस्त शासन गरिरहेको जात व्यवस्थालाई छुपाउनका निम्ति लुकाइ राख्नका निम्ति उनीहरुलाई के गर्न जरुरुी छ भने त्यो घटनामा जातका आधारमा भएको होइन भनेर पुष्ट गर्न जरुरी छ । प्रशासन, राजनीतिक पार्टीहरु, राज्य, एनजिओ, बिश्वबिद्यालय, प्रहरी, सेना सबै संरचना जात व्यवस्थामा आधारित छन ।”

आहुतीले विभेद अन्त्य गर्नका लागि यो आन्दोलन आजको आवश्यकता रहेको बताएका छन् । रुकुम पश्चिम चौरजहारी घटना सम्बन्धमा आइतबार माइतिघर मण्डलामा गरिएको विरोध प्रदर्शनलाई सम्बोधन गदै उनले हरेक क्रान्तिको सानो रुप हुने भन्दै यो क्रान्तीलाई छाड्न नहुने धारणा व्यक्त गरे । उनले भने हामि शान्तिप्रिय भएका छौँ यसले हाम्रो समस्याको हल हुँदैन् ।

यो जातिय विभेदलाई अन्त्य गर्न रगत बगाउँनु पर्ने अवस्था आएको उनले बताए । देशभर एक हप्ताभित्रै आठ जनाको हत्या भएको छ के यो नाटक हो उनले प्रश्न गरे । अब आन्दोलनलाई नयाँ स्वरुप दिनु पर्ने उनको भनाई थियो । यहाँ हरेक क्षेत्रको विभेदलाई निर्मूल पार्न आवश्यक भइसकेको छ उनले भने । यो आन्दोलनलाई हरेक तरिकाले बिट मार्ने प्रयास भैरहेको भन्दै आरोपितलाई मुद्दा लगाएपनि आधारभुत विषयलाई जस्ताको हुने उनले बताए । १० जेठको शनिबार मल्ल थरकी १७ वर्षीया प्रेमिकालाई लिन भनी १९ जना युवासहित जाजरकोटबाट रुकुम पुगेका युवाहरुमाथि गाउँ नै उल्टेर आक्रमण भएको थियो । सोही क्रममा ६ जनाको ज्यान गएको थियो ।

बिरोध कार्यक्रममा साझा पार्टीको रविन्द्र मिश्र, जनता समाजवादीकी दुर्गा सोव, नागरिक आन्दोलनका अगुवा एवं लेखक श्याम श्रेष्ठ लगायतले बोलेका थिए ।