Spread the love

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आरामले दुई वर्ष सरकार चलाए पनि त्यस यता विभिन्न चलखेलको सामना गरिरहनु परेको छ । संवैधानिक व्यवस्थाअनुुसार दुई वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव संसदमा लैजान पाइँदैन । यस व्यवस्थाअनुसार दुई वर्षसम्म प्रधानमन्त्री ओलीविरुद्ध कुनै गतिविधि देखिएर भएन । 

गत फागुन ३ मा ओली सरकारले दुई वर्ष पूरा भयो । योसँगै आफ्नै पार्टी नेकपाभित्रबाट ओलीको विकल्प खोज्न थालियो । प्रधानमन्त्री ओलीलाई सरकार वा पार्टीको नेतृत्वबाट हटाउन आफ्नै पार्टीभित्रबाट चलखेल भए । यसैक्रममा वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने उद्देश्यसहित संविधान संशोधनको तयारी गरियो । गौतमलाई राष्ट्रिय सभा सदस्य बनाएर प्रधानमन्त्री बनाउन आफ्नै पार्टीका पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता लागि परे । यी सबै चलखेललाई व्यहोरेर प्रधानमन्त्री ओलीले आजपर्यन्त सरकार चलाइरहेका छन् । 

तर, हालसम्म राष्ट्रिय सभामा एक जना सदस्य रिक्त रहेको छ । जसलाई सरकारले मनोनित गरेर पूर्ति गर्नुपर्ने हुन्छ । सरकारले राष्ट्रिय सभा सदस्यमा मनोनित गरेका युवराज खतिवडाको गत फागुनमा समयावधि सकिएको थियोे । राष्ट्रिय सभा सदस्यको पदावधि सकिएपछि डा. खतिवडाले फागुन २० गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । तर, ६ महिना संघीय संसदको सदस्य नभए पनि मन्त्री हुन पाउने संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री ओलीले खतिवडालाई पुनः अर्थमन्त्री नियुक्त गरे । खतिवडाको अर्थमन्त्रीको कार्यकाल आउँदो भदौसम्म रहेको छ । उनले ल्याएका तीनवटै बजेट विवादस्पद हुन पुगेको छ। 

यसकारण राष्ट्रिय सभा सदस्यमा एक जना मनोनित गर्न बाँकी र अर्थमन्त्री खतिवडाको पनि समयावधि सकिँदै जाँदा प्रधानमन्त्री ओलीविरुद्ध अहिले सडकदेखि सदनसम्म विरोध भइरहेको छ । अर्थमन्त्री डा. खतिवडाको पनि विरोध भइरहेको छ । प्रचण्डको मौनता तथा  खनाल र नेपालको भित्रभित्रै भइरहेका खेल नियालिरहेका प्रधानमन्त्री ओलीले आफ्नो सत्ता संरक्षणका लागि उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्य र अर्थमन्त्रीको प्रस्ताव गरेको विषय राजनीति क्षेत्रभित्र गाइँगुइँ हुन थालेको छ । 

प्रधानमन्त्री ओलीले आफ्ना निकटवर्ती व्यक्तिमार्फत गौतमलाई अर्थमन्त्रीको प्रस्ताव गरेको विषयले राजनीति वृत्तमा बहसको विषय बन्न थालेको हो । यसअघि प्रधानमन्त्री ओलीले गौतमलाई प्रधानमन्त्रीकै प्रस्ताव पनि गरेका थिए । तर, यसपटक गम्भीरताका साथ प्रधानमन्त्री ओलीले गौतमनिकट व्यक्तिलाई बालुवाटारमै बोलाएर यसबारे छलफल गरेको चर्चा चल्न थालेको छ । गौतमले राजनीतिक जीवनकालमा आफूलाई धेरै सहयोग गरेको र अब आफूले गर्ने भन्दै प्रधानमन्त्री ओलीले उक्त प्रस्ताव गरेको बताइएको छ । 

पार्टी एकता तथा सरकार गठनका बेला भएका सहमति र छलफलले आफूले कहिल्यै पार्टीभित्रबाट असहयोग हुने अपेक्षा नगरेको बताएका ओलीले पछिल्लो समय आफूविरुद्ध प्रचण्डको चलखेल भइरहेको र गौतमलाई पनि भड्काएको महसुस गरेका छन् । प्रधानमन्त्री ओलीको अर्थमन्त्री बन्न प्रस्ताव आएसँगै यसबारे गौतम आन्तरिक छलफल गर्न थालेका छन् ।